पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान विराटनगर रोडशेषस्थित एक होटलको दोस्रो तलाको बैठक कक्षमा एमाले कार्यकर्ताहरूसँग भेटघाटमा व्यस्त थिइन्।
मोरङ, सुनसरी, धनकुटा लगायतका जिल्लाबाट आएका एमाले नेता–कार्यकर्ताहरू पालो र हुल दुवै बाँधेर उनीसँग भेटिरहेका थिए। भेटघाटको सबै चाँजो मिलाउने काममा मोरङकै नेताहरू खटिएका थिए।
‘पूर्वराष्ट्रपति भेटघाटमा आज मात्रै व्यस्त हुनुभएको हो कि हिजैदेखि यत्तिकै छ स्थिति?,’ बैठक कक्षबाहिर रहेका एमाले मोरङका सचिव सोमराज थापालाई सेतोपाटीले सोधेको थियो।
उनको जबाफले बताउँथ्यो, भण्डारी सोमबार राति अबेरसम्म पनि राजनीतिक भेटघाटमा व्यस्त रहिन्।
‘प्रदेशका सबै मन्त्रीहरू आउनुभयो, मुख्यमन्त्रीले पनि एक्लै एक डेढ घन्टा जति उहाँसँग कुराकानी गर्नुभयो,’ सचिव थापाले भने, ‘मन्त्रीहरू राम राना, एकराज कार्की, रेवतीरमण भण्डारी, पाँचकर्ण राईले आएर भेट्नुभयो। मुख्यमन्त्री हिक्मत कार्की पनि आएर लामो छलफल गर्नुभयो। एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मीले पनि लामो कुराकानी गर्नुभयो।’
यति भनिसकेर सचिव थापाले भण्डारीलाई भेट्न कुरिरहेका पत्रकारहरूको टोलीलाई भित्र लिएर गए।
पत्रकारहरूको टोलीसँग भेटेपछि पूर्वराष्ट्रपति भण्डारीले विराटनगरसँग जोडिएको आफ्नो विगत कोट्याइन्।
मुलुकको अहिलेको अवस्थाबारे चिन्ता प्रकट गरिन्। अनि अन्तिममा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्षलाई केही प्रश्न सोधिदिन पत्रकारहरूलाई आग्रह पनि गरिन्।
उनले कुराकानीको सुरूआत विराटनगरसँग जोडिएको आफ्नो विगतबाट गरिन्।
‘मेरो राजनीतिक जीवनको सुरूआत नै विराटनगरबाटै भएको हो,’ उनले भनिन्, ‘मैले पार्टी सदस्यता लिएर सबभन्दा पहिले शपथ लिएको विराटनगरमै हो। हाम्रो (मदन भण्डारीसँग) बिहे विराटनगरमै भएको हो, छोरीहरू यहीँ जन्मेका हुन्।’
उनले विराटनगरको पछिल्लो सुस्तताप्रति चिन्ता पनि जाहेर गरिन्।
‘मुलुकका अन्य उदाउँदा सहरहरू हेर्छु, अनि विराटनगरलाई हेर्छु, विगतको जस्तो आकर्षण विराटनगरले गुमाउँदै छ कि भन्ने चिन्ता लाग्छ,’ उनको भनाइ थियो, ‘पर्यटनमा होस् अथवा उद्योगधन्दामा विराटनगरले केही राम्रो र नयाँ गर्नुपर्छ अब।’
दुई वर्षअघि विराटनगरमा आयोजित एउटा विमर्श कार्यक्रममा योजनाविद् र पूर्वाधारविद्हरूले पनि विराटनगरले विगतको जस्तो वैभव गुमाउँदै गएको चिन्ता जाहेर गरेका थिए। उनीहरूलाई लागिरहे जस्तै चिन्ता पूर्वराष्ट्रपति भण्डारीलाई पनि रहेछ।
आफू पछिल्लो समय देशभरि पुगिरहेको सन्दर्भ पनि उनले सुनाइन्।
त्यहीक्रममा बीबीसी नेपाली सेवाका पत्रकार विक्रम निरौलाले सोधे, ‘सक्रियता धेरै बढाइरहनुभएको छ। भदौ ५ को तयारी चाहिँ कस्तो चल्दैछ?’
मदन भण्डारीको हीरक जन्मजयन्ती मनाउन बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वमा समिति गठन भएको र सोही समितिको कार्यालय उद्घाटनको कार्यक्रम भदौ ५ लाई तय भएको जानकारी दिँदै भण्डारीले भनिन् ‘मलाई साथीहरूले संरक्षक बसिदिनुस् भन्नुभयो। मैले हुन्छ भनेँ। अब म पनि त्यो कार्यालयमा नियमित जानेछु।’
२०४८ मा काठमाडौंमा चुनाव लड्दा उनका श्रीमानसमेत रहेका एमालेका तत्कालीन महासचिव मदन भण्डारीको प्रचार कार्यालय रहेकै घरलाई अहिले ‘हीरक जन्मोत्सव समितिको कार्यालय’ बनाइएको पनि उनले बताइन्।
‘युवा संघका युवाहरूले विदुर मैनालीको त्यो घर खाली नै रहेछ भन्नासाथ केही नसोची मैले पनि त्यही लिएँ भनिदिएँ,’ भण्डारीले भनिन्, ‘किनभने, त्यो घर भन्ने बित्तिकै मलाई किनकिन लिऊँलिऊँ लागिहाल्यो। त्यही घर लियौं।’
अब त्यहाँबाट हीरक जन्मोत्सवका सम्पूर्ण गतिविधि हुने उनको भनाइ थियो।
‘जबजका विषयलाई अझै तलसम्म विस्तार गर्ने, पार्टीलाई सहयोग गर्ने काम अब त्यही कार्यालयमार्फत हुनेछ,’ उनले भनिन्।
एमालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ का प्रणेतासमेत मानिने मदन भण्डारीले चुनावी अभियान चलाएको थापागाउँस्थित घरलाई हिरक जन्मोत्सव समितिको कार्यालय भनिए पनि त्यो खासमा भण्डारीको सम्पर्क कार्यालय बन्ने प्रष्ट भइसकेको छ।
उनले नै ‘जबजको विस्तारबाट पार्टी काम गर्ने’ भनिसकेकी छन्।
सक्रिय राजनीतिमा फर्केर एमालेलाई नेतृत्व दिने घोषणा गरेकी भण्डारीलाई एमालेले भने सदस्यता नवीकरण रोकेर बाटो छेकिसकेको छ।
यही प्रसंगबारे सेतोपाटीले उनलाई सोधेको थियो, ‘पार्टी अध्यक्ष (ओली) मदन भण्डारी फाण्डेसनसँग त्यति सन्तुष्ट सुनिनुहुन्न। यस्तो बेलामा कसरी अघि बढ्नुहुन्छ?’
हाम्रो प्रश्नको उत्तरमा उनले धेरै केही भनिनन्। तर, जति भनिन्, त्यसले उनीभित्र बढिरहेको ओलीप्रतिको आक्रोशको पारो भने सजिलै नाप्न सकिने देखाउँथ्यो।
भण्डारीले भनिन्, ‘ओलीले असार १४ को कार्यक्रममा जे भन्नुभयो, अनि मदन भण्डारी फाउण्डेसनका बारेमा पछाडि जे भन्नुभयो, त्यसबारे तपाईंहरू जस्तै पत्रकारले उहाँलाई नै सोध्नुहोला। म चाहिँ अब सोध्दिनँ।’
साउन ४ पछि आफूले ओलीसँग कुराकानी नगरेको उल्लेख गर्दै भण्डारीले भनिन्, ‘यदि तपाईंहरूलाई कुनै किसिमको डर लाग्दैन भने, लोकतन्त्रमा प्रश्न गर्ने अधिकार प्रयोगमा तपाईंहरूको रूचि छ भने, उहाँलाई प्रश्न सोध्नुहोला।’
ओलीलाई पत्रकारहरूले सोध्ने प्रश्नको अन्तरवस्तु सिफारिस गर्दै उनले भनिन्, ‘तपाईंहरूको उहाँ (ओली) सँग भेट भइहाल्छ। त्यसेबला सोध्नुहोला। सर, तपाईंले मदन भण्डारी, जसलाई पार्टीले जननेता मान्छ, आफ्नो गौरव ठान्छ। जबजको प्रणेता मान्छ। उहाँको निधनको ३२ वर्षपछि असार १४ मा किन त्यसो भन्नुभयो? म चाहिँ उहाँलाई यसबारे सोध्दिनँ। डर लाग्दैन भने तपाईंहरूले सोध्नुहोला।’
असार १४ अर्थात मदन भण्डारीको जन्मजयन्ती। यसपटक काठमाडौंमा आयोजित सोही कार्यक्रममार्फत मदन पत्नी विद्याले सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने तयारी थियो।
मदन भण्डारी फाउण्डेसन अध्यक्षसमेत रहेकी मदन–विद्या पुत्री उषाकिरण भण्डारी र उनकी आमा विद्या दुवै मञ्चमा रहेका बेला ओलीले एमालेका पुरानो र नयाँ पुस्ताले थाहै नपाएको लाञ्छनाको प्रसंग उठाएका थिए।
त्यसदिन प्रधानमन्त्री ओलीले मदन भण्डारीविरूद्ध चारवटी श्रीमती विवाह गरेको र सहकारी ठगेर हिँडेको भन्नेसम्मको लाञ्छना लगाइएको प्रसंग निकालेका थिए।
नेपाली राजनीतिका अनुज पुस्ताले कतै नपढेको र थाहासमेत नपाएको विषय प्रधानमन्त्रीले किन उप्काए भनेर एमाले कार्यकर्ताको मनमा अहिले पनि प्रश्न खेलिरहेको प्रमाण सामाजिक सन्जालमार्फत प्रकट भइरहेको छ।
ओलीको उक्त अभिव्यक्ति पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा आगमनको घोषणा सभामा प्रकट हुनुलाई भण्डारी निकट नेताहरूले नियोजित भन्दै आएका थिए।
‘अरूलाई होचो देखाएर आफू अग्लिने ओलीको पुरानै बानी हो,’ भण्डारी निकट नेताहरूले त्यसबेलै भनेका थिए, ‘भण्डारीको आगमनले चुनौती हुने भएपछि त्रासले उनले त्यसो भनेका हुन्।’
मंगलबारको भेटमा सेतोपाटीले फाउण्डेसनसँग ओलीको असन्तोषबारे सोधेको प्रश्नको उत्तर दिने क्रममा भण्डारी असार १४ तिर फर्केकी थिइन्।
अब उनी मदन भण्डारी फाउण्डेसनसँग सम्बद्ध विषयमा आउँदै थिइन्। तर, उनले त्यस विषयमा उत्तर होइन, प्रश्न नै सिफारिस गरिन्।
उनले भनिन्, ‘मदन भण्डारी फाउण्डेसनबारे पनि उहाँलाई तपाईंहरूले सोध्नुहोला। त्यसबेलाको पार्टी नेतृत्वले तपाईंलाई पार्टीभित्र ढिम्किन नदिँदा त्यही फाउण्डेसनले तपाईंलाई चौतारी दिएको हो कि होइन भनेर पनि उहाँलाई सोध्नुहोला।’
उनले अगाडि भनिन्, ‘कुनै बेला मदन भण्डारी फाउण्डेसनलाई कसैले कर्के नजर लगाए म त्यसको आँखा फुटाइदिन्छु भन्नुहुन्थ्यो। त्यस्तोसम्म भन्ने तपाईंले आज फाउण्डेसनलाई किन त्यसो भन्नुभयो भनेर पनि तपाईं पत्रकारहरूले उहाँलाई सोधिदिनुहोला।’
साउन २६ मा मदन आश्रित प्रतिष्ठानको अध्यक्षमा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीलाई सपथ गराउने क्रममा ओलीले फाउण्डेसनप्रति तीव्र असन्तोष प्रकट गरेका थिए।
उनले भनेका थिए, ‘अहिले मदन भण्डारी फाउण्डेसनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ। यस्ता संस्थाहरू पार्टीसँग निष्ठावान हुनुपर्छ।’
आठौं महाविधेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएपछि ओलीकै अगुवाइमा जिल्ला तहसम्म फाउण्डेसन विस्तार भएको थियो। त्यसले जिल्ला जिल्लामा समानान्तर गतिविधि चलाउने गथ्र्यो भन्ने एमाले नेताहरू धेरै छन्।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नामबाट खोलिएको प्रतिष्ठानबाट समानान्तर गतिविधि गर्दै पार्टी नेतृत्वमा फड्को मारेका ओलीले पछिल्लो समय भने त्यही संस्थाको आलोचना गर्न थालेका छन्। पूर्वराष्ट्रपति भण्डारीलाई त्यसले आक्रोशित तुल्याएको बुझ्न उनका अभिव्यक्ति काफी छन्।
भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको अभिव्यक्ति विराटनगरमा पनि दोहोर्याएकी छन्।
होटल बिगमा पत्रकारहरूसँग कुराकानी बिट मारेर सोझै पञ्चालीस्थित पार्टी कार्यालय पुगेकी उनलाई त्यहाँ मोरङका कार्यकर्ताले स्वागत गरेका थिए।
केन्द्रीय सदस्य रामलाल साह, नेता विनोद ढकाल, जिल्ला कमिटीका सबै पदाधिकारी, महानगरका पदाधिकारी र कार्यकर्ताहरूको बाक्लो जमघट रहेको कार्यक्रममा नजान ओली पक्षले उर्दी गरेको थियो।
यद्यपि कार्यकर्ताको ठूलो समूह उनलाई स्वागत गर्न पार्टी कार्यालयमा उपस्थित भएको थियो। कार्यक्रम नभनी आयोजित सो भेलामा अरू कसैले केही बोलेनन्।
अगाडि बसिरहेकी भण्डारी आफै माइक भए ठाउँमा पुगेर केहीबेर बोलिन्। सबैलाई धन्यवाद दिइन्। त्यहाँ पनि उनले दोहोर्याइन्, ‘विराटनगरमै मैले पार्टी सदस्यता लिएर शपथ लिएको ४५ वर्ष भएछ। मैले अहिले पार्टी सदस्यता नवीकरण गरेको छु।’
१० वर्षपछि मोरङ पार्टी कार्यालयमा आएको बताएकी भण्डारीले पार्टी कार्यालयका कोठाकोठा पुगेर विगतका सम्झनाहरू कार्यकर्तालाई सुनाएकी थिइन्।
केन्द्रले नवीकरण रोक्ने निर्णय गरेको सदस्यता विवादबारे उनले यसो भन्दा आज उपस्थित कार्यकर्ताहरूले ताली बजाएर भण्डारीको समर्थन गरेका थिए। भण्डारी मंगलबार नै काठमाडौं फर्केकी छन्।