नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी छ।
सिंहदरबारस्थित पार्टीको संसदीय दल कार्यालयमा माओवादी सांसदहरूको बैठक बिहान ८ बजेपछि सुरू भएको हो।
बैठक अहिले पनि जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जानकारी दिएको छ।
शुक्रबारदेखि संसदको बर्खे अधिवेशन सुरू हुँदैछ।
यसपालिकको बर्खे अधिवेशनमा बजेटबाहेक अरू विधेयकहरू पनि छलफल गर्ने तयारी छ। खासगरी विद्यालय शिक्षा विधेयक टुंग्याएर शिक्षकहरुको मागको सम्बोधन गर्ने सरकारको तयारी छ।
माओवादी केन्द्रले शिक्षकहरूलाई आफ्नो माग पूरा नहुँदासम्म आन्दोलन नरोक्न भन्दै आएको छ।
शिक्षकहरुको आन्दोलन र उनीहरुको माग पूरा गर्ने विषयमा माओवादीले संसदमा पनि प्रभावकारी भूमिका खेल्ने बताउँदै आएको छ।
सरकारले गलक क्रियाकलापका कारण आम जनतामा निराशा चुलिँदै गएको निष्कर्ष माओवादीको छ। यसबारेमा पनि संसदबाट सरकारलाई सचेत गराउने तयारी गरेको छ।
यी सबै विषयमा संसदीय दल बैठकमा छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।