नेकपा (माओवादी केन्द्र)ले वर्तमान परिस्थिति र समसामयिक राजनीतिक परिवेशको सन्दर्भमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरेको छ।
वुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माओवादीले समसामयिक परिस्थितिबारे सात बुँदामा धारणा सार्वजनिक गरेको हो। तीमध्ये चार बुँदामा सरकारको आलोचना उल्लेखित छ।
माओवादीले सरकार प्राविधिक रूपमा अस्तित्वमा रहे पनि राजनीतिक रूपमा वैधानिकता गुमाइसकेको बताए।
'यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन। वर्तमान सत्तागठबन्धन अप्राकृक्तिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन,' विज्ञप्तिमा भनिएको छ।
त्यस्तै अहिलेको दुई दलीय गठबन्धन सरकारले प्रचण्ड नेतृत्वको यसअघिको सरकारले गरेको भ्रष्टाचार विरोधी अभियानलाई उल्ट्याएको मात्र नभई सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गरेको आरोप लगाएको छ।
'अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको छ। आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने, विपक्षहरुप्रति छानीछानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको शृंखला नै खडा गरेको छ। यो सरकारले आजसम्म जे जस्तो निर्णय गरेको छ ती सबै विचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्रय हित विपरीत छन्,' वज्ञप्तिमा भनिएको छ।
माओवादीले शिक्षकहरू सडकमा भए पनि प्रधानमन्त्री उनीहरुको माग पूरा गर्नभन्दा उनीहरूलाई होच्याउने र अपमानित गर्ने काम गरिरहेका छन्।
'आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ। शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।
माओवादीले लघुवित्त पीडित, सहकारी पीडितहरु, कर्मचारीहरु, चिकित्सकहरु लगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी उनीहरूका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
माओवादी केन्द्रले फागुन १२ गतेदेखि जारी हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियान कपिलवस्तु पुगेको पनि जानकारी दिएको छ। अभियान दौरान हालसम्म १ करोड जनतासँग संवाद भएको माओवादीको दाबी छ।
'अभियानका क्रममा शहीद तथा बेपत्ता परिवारसँगको भेटघाट, सर्वपक्षीय अन्तरसंवाद, अन्तरक्रिया, कोणसभा, जनसभा लगायतका जनतासँग जोडिने कार्यक्रमहरू अभूतपूर्व रूपमा सफल भएका छन्,' विज्ञप्तीमा भनिएको छ।
अभियानका क्रममाः राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका महत्वपूर्ण विषयहरुमा गहन अध्ययन, अनुसन्धान, अन्वेषण गरिएको माओवादीले जानकारी दिएको छ। किताबी दर्शन र जीवन दर्शनको बेजोड संयोजनले अभियान निकै प्रभावकारी भइरहेको छ ।
माओवादी केन्द्रले भारतको जम्मू-कश्मिरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपानेसहित पर्यटकहरूको निधन भएको घटनाप्रति हाम्रो पार्टी भर्त्सना गरेको छ।