नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारका कमीकमजोरी र काम गर्ने शैलीलाई सच्याउनुपर्ने बताएका छन्।
सरकारका काम गर्ने शैली बदल्नुपर्ने बताएका उनले कांग्रेस र एमालेबीच पूर्वसहमतिअनुसार नै अघि बढ्ने पनि बताए।
‘सरकारका कमीकमजोरी सच्याउनुछ, काम गर्ने कुरामा कहीँ तलमाथि भएको छ भने त्यो शैलीलाई बदल्नुछ तर कांग्रेस र एमालेका बीचमा भएको सहमतिको आधारमा हामी जहाँ जानका लागि र जे उद्देश्य प्राप्तिका लागि सहमति गरेका छौं, त्यसमा दायाँबायाँ हुँदैन,’ मंगलबार काठमाडौंमा भएको यातायात व्यवसायीको कार्यक्रममा खड्काले भने।
सरकार सञ्चालनमा देखिएका कमजोरीलाई सुधार्दै जाने पनि उनको भनाइ थियो।
‘हामीले संयन्त्रमार्फत् र सभापतिले पनि प्रधानमन्त्रीलाई भन्नुभएको छ, आम नागरिक र मतदाताको मानसिकता र भावनालाई बुझेर नागरिकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्छ,’ खड्काले भने, ‘असन्तुष्टिलाई घटाउँदै भरोसा र विश्वास जगाउनुपर्छ। असन्तुष्टि र गुनासालाई सन्तुष्टिमा परिणत गर्ने हो, सुधार्दै जाने हो।’
आम नागरिक र कार्यकर्तामा देखिएको असन्तुष्टिलाई सन्तुष्टिमा परिणत गर्न व्यापक व्यापक रणनीति, कार्यनीति र थप नयाँ नीति बनाउँदै एउटा अभियान चलाउनुपर्ने पनि उनले बताए।
‘यो पाटोमा पनि बैठक बसेर पार्टीमा छिट्टै गम्भीर छलफल हुँदैछ, सभापति फर्किसकेपछि हामी अर्को तरिकाले अघि बढ्नेछौं,’ उनले भने, ‘सरकारका काम प्रभावकारी गर्नका लागि कांग्रेस कमजोरीहरूसँग सम्झौता नगरी दृढतापूर्वक अघि बढ्छ।
सभापति देउवा गत आइतबार थाइल्याण्डको बैंकक गएका थिए।