नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेता कार्यकर्ताहरूले लगातार रूचाएका कारण आफू ३५/३६ वर्षदेखि पार्टी नेतृत्वमा रहेको बताएका छन्।
बिहीबार रूपन्देहीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वंशवाद र लोकतन्त्रको सिद्धान्तलाई एउटै भाँडोमा हाल्न नमिल्ने बताउँदै कार्यकर्ता र जनताहरूले पनि चुनेका कारण आफू नेतृत्वमा रहिरहेको बताएका हुन्।
'लगातार कार्यकर्ताद्वारा जनताद्वारा रूचाइएका कारणले छु। आफ्नो विचारप्रति समर्थनका कारणले छु,' उनले भने, 'जबसम्म त्यो परिस्थिती रहिराख्छ र मैले देश र जनताका लागि केही योगदान गरिराखेको हुन्छु मलाई हटाउनुपर्ने आवश्यकता तपाईंहरुलाई किन पर्यो। म हटाएपछि गणतन्त्र सुदृढ हुन्छ? अर्को आउनेबित्तिकै राम्रो हुन्छ भन्ने ज्ञारेन्टी छ?,' उनले भने।
प्रचण्डले सबै पद आफूले मात्रै नलिएको पनि बताए।
'मसँग धेरै कमरेडहरू हुनुहुन्छ। उपराष्ट्रपति,उपप्रधानमन्त्री, सभामुख, सांसद भएका कमरेडहरू पनि हुनुहुन्छ। सबै मै भइरहेको छु?,' उनले भने।
अध्यक्ष प्रचण्डले निरंकुश र तानाशाही प्रवृत्तिको तप्का र वर्गका लागि प्रचण्ड आँखाको कसिंगर हुने बताए।
'अर्को नेता देखाउनुस्। ७१ वर्षको उमेरमा पनि बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म लगातार खट्ने देखाउनुस् त। यो पक्षलाई पनि बिचार गर्नुपर्छ,' उनले भने।