प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तान गुन्डा र लागु औषध सेवनकर्ता भएर निस्कियो भने अभिभावकलाई पिर पर्ने बताएका छन्।
मान्छेको आन्तरिक गुण र आचरण विश्वविद्यालयमा भन्दा घरमा सिकिने भन्दै उनले घरबाट नै असल शिक्षा दिन सक्नुपर्ने उनले बताए।
‘आफूले हुर्काएको सन्तान गुन्डा भएर निस्कँदा कस्तो पीर पर्छ अभिभावकलाई, ड्रगिष्ट भएर निस्कदा कस्तो पीर पर्छ,’ उनले भने, ‘त्यसो भएर गलत संगतमा जान नदिनुस्।’
पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थीका अभिभावकले घरमै राम्रो शिक्षा दिन सकेको बताए।
‘तपाईंहरूले योग्य सन्तान जन्मानुभयो। हुर्काउनुभयो। सुशिक्षा दिएर योग्य बनाउनुभयो,’ उनले भने, ‘घरमा राम्रो शिक्षा दिएको हुँदैन भने विश्वविद्यालयले मात्र राम्रो शिक्षा दिन सक्दैन।’
पोखरा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले इमान्दारिताको फल मात्र श्रेययुक्त हुने भन्दै बेइमानी हुन नहुने बताए।
‘सफलता बेइमानीले पाइँदैन। कुनै दिन कसैले थाहा पायो भने त्यो जेल गयो,’ उनले भने, ‘सफल हुन इमान्दार हुनैपर्छ। मेहनती हुनैपर्छ।’
चोरले चोर्न र पाकेटमारले पाकेटमार गर्न सफलता प्राप्त नगर्ने उनको भनाइ छ। समाज र देशलाई फाइदा पुग्ने सकारात्मक कुरामा मात्र सफलता प्राप्त हुने प्रधानमन्त्री ओलीले बताए।
राम्रोसँग पढ्ने विद्यार्थी, राम्रोसँग खेल्ने खेलाडी र राम्रोसँग खेती गर्ने किसान सफल हुने भन्दै उनले इमान्दारिताका साथ काम गर्दा सफलता पाउन सकिने बताए।
पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल अघि बढाएको भन्दै उनले त्यसमा सरकारले सहयोग गर्ने उनले बताए।
पोखरा– ३० ढुङ्गेपाटनमा रहेको विश्वविद्यालयले दिक्षान्त समारोहमा ८७२ जना विद्यार्थीलाई विद्यावारिधीको उपाधि प्रदान गरेको विश्वविद्यालयका डीन अमर नागिलाले बताए।