रूसलाई फाइदा हुने गरी युक्रेनको युद्ध रोक्ने सहमति गर्न लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्झाउन फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रों र बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आगामी साता अमेरिकाको भ्रमण गर्दैछन्।
युक्रेन र युरोपेली देशका कुनै प्रतिनिधि बेगर नै मंगलबार साउदी अरेबियाको राजधानी रियादमा अमेरिका र रूसले वार्ता सुरू गरेका थिए।
अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्व दूत स्टिभ विट्कफ, रूसी विदेशमन्त्री सर्गेई लाभ्रोव र पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ अनि केही साउदी प्रतिनिधिबीच भएको बैठक करिब साढे ४ घन्टा चलेको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला दिनमा युक्रेनले नै रूससँग युद्ध सुरू गरेको झुटो दाबी गरेका छन्। त्यस्तै रूसको भाषा बोल्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई चुनाव बेगरका तानाशाह भनेका छन्।
सन् २०१९ मा राष्ट्रपति निर्वाचित भएको जेलेन्स्कीको कार्यकाल २०२४ मै सकिए पनि देशमा युद्ध चलेको बेलामा चुनाव गर्न सम्भव नभएको भन्दै उनले चुनाव गराएका छैनन्।
ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनबाट प्रभावित भएर रूसलाई फाइदा हुने गरी सहमति गर्लान् भनेर डराएका युरोपेली देशका सरकार प्रमुखहरूले सो विषयमा आकस्मिक बैठक गरिसकेका छन्।
युक्रेनको युद्ध रोक्ने वार्ताका कारण अमेरिकाको युरोपेली देशहरूसँगको दशकौं अघि देखिको घनिष्ठ सम्बन्ध नै बिग्रिन लागेका बेला ट्रम्पलाई सम्झाउन माक्रों र स्टार्मर अमेरिकाको भ्रमण गर्न लागेका हुन्।
पुटिनको माग अनुसार युक्रेनबारे सहमति गरे उनलाई र अमेरिका दुवैलाई चीन, इरान लगायत विपक्षी राष्ट्रले कमजोर ठान्ने छन् भनेर ट्रम्पलाई उनीहरूले सम्झाउने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा उनीहरूले भविष्यमा पुटिनले फेरि युक्रेनमाथि हमला नगरून् भनेर प्रत्याभूति नगरी युद्ध रोक्ने सहमति नगर्न पनि सम्झाउने प्रयास गर्ने छन्।
मंगलबार रियादमा सुरू भएको वार्तामा साउदी राजकुमार मोहम्मद बिन सलमान (एमबिएस) ले युक्रेनलाई पनि सहभागी गराउन चाहे पनि अमेरिका र रूसले नमानेको खुलिसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग फेब्रुअरी १२ मा टेलिफोन संवाद गरेपछि युक्रेनमा तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र रूसबीच मंगलबार छलफल भएको हो।
अमेरिका र रूसबीच सुरू भएको वार्तामा साउदीमा शासन चलाइरहेका एमबिएसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रतिनिधि पनि सामेल गराउन चाहेका थिए। तर अमेरिका र रूस दुवैले युक्रेनको उपस्थिति नचाहेकाले सहभागी नगराइएको भनेर ब्लुमबर्गले लेखेको छ।
बुधबार रियाद आउने पूर्व-निर्धारित कार्यक्रम भएका जेलेन्स्कीलाई वार्तामा साउदी भूमिका र मंगलबार भएको प्रगतिबारे एमबिएसले जानकारी गराउन चाहेका थिए भनेर एक साउदी स्रोतको हवाला दिँदै ब्लुमबर्गले जनाएको छ।
तर बैठकमा युक्रेनलाई समावेश नगरेको भनेर रिसाएर उनले साउदी भ्रमण सारेका छन्।
एमबिएससँग राम्रो सम्बन्ध रहेको भन्दै उनले मार्च १० मा साउदीको भ्रमण गर्ने भनेका छन्।
'युक्रेनमा युद्ध कसरी अन्त्य गर्ने भन्ने बारेमा निर्णय युक्रेन बिना गर्न सकिँदैन, न त कुनै शर्त थोपर्न सकिन्छ,' टर्की भ्रमणमा रहेका जेलेन्स्कीले मंगलबार भने।
'साउदीमा भएको यो रूसी-अमेरिकी बैठकमा हामीलाई आमन्त्रण गरिएको थिएन। यो हाम्रो लागि, मलाई लाग्छ धेरै अरूको लागि पनि आश्चर्य थियो,' उनले थपे।
युक्रेनलाई जस्तै युरोपेली देशलाई पनि सो वार्तामा सहभागी नगराइएको भनेर युरोपमा समेत विरोध भएको छ। तर अमेरिकी विदेश मन्त्री रूबियोले कसैलाई पनि पाखा नलगाइएको दाबी गरे।
वार्तापछि उनले फ्रान्स, जर्मनी, बेलायत, इटाली र बेलायतका विदेश मन्त्री र युरोपियन युनियनका अधिकारीलाई प्रगतिबारे जानकारी गराएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
यसअघि जर्मनीमा भएको म्युनिख सुरक्षा सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको साइडलाइन वार्तामा जेलेन्स्कीले साउदीमा हुने वार्ताबारे आफू अवगत नभएको जानकारी गराएका थिए।
उनले आफ्ना अन्य रणनीतिक साझेदारहरूसँगको छलफल अगाडि रूससँगको वार्तामा सहभागी नहुने भनेर पनि भान्सलाई जानकारी गराएको रोयटर्सले समाचारमा लेखेको छ।
म्युनिख सुरक्षा सम्मेलनमा भान्सले युक्रेन र रूसबीच युद्ध अन्त्यका लागि हुने वार्तामा युरोपेली मुलुकहरूलाई स्थान नदिइने भनेका थिए।
ट्रम्पले पनि युक्रेन युद्ध अन्त्य गर्ने छलफलमा युरोपेली मुलुकहरू हुने छैन भन्दै आएका छन्।
रूस विरूद्धको युद्धमा युक्रेनलाई सघाउँदै आएका युरोपेली मुलुकहरूले वार्तामा सहभागी नगराउने भनेपछि आपत्ति जनाएका छन्।
युक्रेनले पनि आफूलाई सहयोग गरिरहेका युरोपेली मुलुकहरूको सहभागिता बिना हुने कुनै पनि निर्णय स्वीकार नगर्ने देखिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)