'ल, लेख्नुस् है' भन्दै मैले एउटा सूचना सेयर गरेँ।
धेरैले लेख्नुभयो, पठाउनुभयो। पठाउँदै पनि हुनुहुन्छ। तर केहीले केही सोध्नुभयो/भन्नुभयो। ती सोधाइ/भनाइ प्रायः उस्तै उस्तै थिए।
मैले जानी नजानी केही गोलमटोल जबाफसम्म त दिएँ। पछि लाग्यो, प्रश्न साझा छन् भने जबाफ किन साझा नगर्ने? यो लेख तिनै प्रश्नले जन्माएको हो।
मैले सेयर गरेको आह्वान '२०२५ मा २५ का २५' थियो। त्यो सूचना के हो, थाहा पाउन 'पब्लिकेसननेपालय डटकम' मा हेर्नुहोला। र, समय केही दिन बाँकी रहेको हुँदा कथा, कविता र निबन्ध पठाउन नभुल्नुहोला।
पब्लिकेसन नेपालयको पहिलो पुस्तक 'पल्पसा क्याफे' विशेष गरी युवा पाठकहरूकै रोजाइमा परेर लोकप्रिय भयो। युवाहरूले दिएको त्यो खुसी युवाहरूकै लागि युवाहरूमै किन समर्पित नगर्ने त? अनि नेपालयले सोच्यो — वर्तमान सहस्राब्दी अर्थात् यो एक्काइसौं शताब्दीमा जन्मेका युवाहरूका रचना समेटेर पुस्तक छाप्ने।
'ह्या, लेखेर के हुन्छ?'
'अहिलेका केटाकेटीलाई यस्तो लेख्ने-सेख्नेमा चासो छैन।'
'लेख्न त लेख्ने, के विषयमा लेख्ने?'
'लेख्न त मन छ तर लेख्नै आउँदैन।'
'एक लाइन शुद्ध लेख्न गाह्रो छ, लेखै त कसरी लेख्ने?'
'हामी जस्ताले लेखेको के छानिएला र?'
मैले यस्तै यस्तै साझा प्रश्न पाएँ। कतिलाई जबाफ लेखेँ। कतिसित मौन बसेँ।
हामीले भर्खरै प्रजातन्त्र दिवस मनायौं। प्रजातन्त्र भनेकै प्रश्न। जहाँ संवाद, त्यहाँ प्रजातन्त्र। जहाँ प्रजातन्त्र, त्यहाँ संवाद। मैले कतिलाई जबाफ दिन सकेको थिइनँ। मौनता प्रजातन्त्र होइन। संवादमा आएर म अहिले प्रजातन्त्र दिवस सेलिब्रेट गरिरहेछु।
अब कुरोको सुरू भाषा र एक लाइन शुद्ध लेख्न गाह्रो छ भन्नेबाटै गरौं।
हामी घरपरिवार सबैतिर सबभन्दा बढी नेपाली भाषा नै बोल्छौं होला। बोल्न सजिलै जान्ने/सक्ने यही भाषा लेख्न/पढ्न सबभन्दा गाह्रो छ भने यो सीधासीधा शिक्षा मन्त्रालय, शिक्षक र विद्यालयको गल्ती हो। एसइईमा सबभन्दा कम ग्रेड नेपालीमा आउनु नानीहरूको दोष हुँदै होइन। हाम्रो सिकाउने तरिका नमिलेर हो। अहिले यतातिर धेरै नजाऔं। यस विषयमा मैले पहिला पनि केही लेखेको छु। छुट्टै नयाँ लेखौंला पनि।
नयाँ पुस्तालाई नेपालीमा लेख्न गाह्रो भइसकेको छ। त्यसैले हामीले उनीहरूलाई जुन भाषामा लेख्न सजिलो लाग्छ, त्यसैमा लेख्न दिऔं भन्ने सोच्यौं। अनि अंग्रेजी वा आफ्नो मातृभाषाहरूमा पनि लेख्न सकिने गरी भाषाको बाँधबन्धन हालेनौं।
यही नै राम्रो लेखाइ भन्ने गणितीय वा वैज्ञानिक सूत्र त लेखनमा हुँदैन। तर जुन भाषामा लेख्ने हो, त्यो भाषालाई प्रेम गरेको राम्रो हो। भन्न खोजेको के भने सकेसम्म शुद्ध-चुस्त लेख्ने प्रयास गरेको बेस। छोटो-छरितो, सरल-तरल वाक्यमा सजिलोसँग लेख्दा गल्ती कम हुन्छ। हामी आफ्नो भाषामा जति पनि बोल्न सक्छौं भने लेख्न पनि सक्छौं। सुन्दर लेखन त्यही हो जुन हाम्रो बोलीजस्तै अनौपचारिक, स्वतःस्फूर्त र संक्षिप्त वाक्यमा हुन्छ।
'भाषा दुई किसिमको हुन्छ — बोलिने अर्थात् कथ्य र लेखिने अर्थात् लेख्य।'
यही पढेर हामी हुर्कियौं। हाम्रो गल्ती नै यही भइदियो। म त भन्छु, जब लेखिने भाषा बोलिनेभन्दा फरक गर्छौं नि, तब त्यो लेखाइले खासै छुँदैन। अहिले पडकास्ट हामी किन धेरै सुन्छौं? किनकि, त्यसले हामीलाई छुन्छ। किनकि त्यो कथ्य छ, स्वतःस्फूर्त छ, अनौपचारिक छ अनि मनको नजिक छ।
नयाँ साथीहरूलाई मेरो सानो सुझाव — तपाईं मोबाइल अन गरेर कुनै विषयमा आफू बोल्दै केही रेकर्ड गर्नुस्। अनि त्यसैलाई शब्दमा उतारेर तलमाथि केही मिलाएर, वाक्यहरूको सिलसिला मिलाएर लेख्नुस् त। एउटा अनुच्छेदमा एउटा आइडिया लेख्नुस्। अर्को आइडिया आउँदा अर्को अनुच्छेद बनाउनुस्। सकेसम्म आठ-दस शब्दभन्दा धेरै शब्द एउटै वाक्यमा नराख्नुस्।
सानोमा हामीलाई साना साना वाक्य दिएर यी सब जोडेर एउटा ठूलो वाक्य बनाऊ भनेको सम्झिनुहुन्छ? सरल वाक्य दिएर संयुक्त/मिश्र वाक्य बनाऊ भन्थे नि, हो त्यही। त्यो 'सीप' अब सिर्जनात्मक लेखनमा काम छैन। बरू ठूलो वाक्य दिएर यसैबाट जति सक्छौ धेरैवटा वाक्य बनाऊ भनेको भए पो।
'के लेख्ने, कुन शीर्षक र विषयमा लेख्ने?'
अक्सर हामी देश, राष्ट्र, राष्ट्रिय विभूति जस्ता विषय रोज्दा रहेछौं। यी विषयको आफ्नै सौन्दर्य र मूल्य छ। तर मलाई लाग्छ — अब हामीले आफू र आफ्नै सेरोफेरोलाई विषय बनाउनुपर्छ। हाम्रा सिर्जनामा हाम्रो आफ्नै समय, आफ्नै संघर्ष, आफ्नै सपना, आफ्नै चिन्ता, आफ्नै चिन्तन, आफ्नै सुख, आफ्नै दुःख, आफ्नै भाषा आएको अझ सुन्दर।
विषयको कुरा गर्दा अलिकति केही इतिहास स्मरण गरौं न त।
आज हामी प्रजातन्त्रको ७५औं दिवसमा छौं। नेपालमा २०४६ सालभन्दा अघिको ३० वर्ष पञ्चायती बन्द व्यवस्था थियो। त्यो व्यवस्था सकिएको पनि ३५ वर्ष भइसक्यो। यिनै वर्षहरूमा शिक्षा, सञ्चार, स्वास्थ्य आदिमा निजी क्षेत्रको तीव्र फैलावट भयो। यिनै वर्षहरूमा नेपालीहरू मुलुकबाहिर अनि मुलुकभित्रै पनि हिमाल-पहाड-गाउँबाहिर जाने क्रम बढ्यो। प्रविधिमा आएको वैश्विक आविष्करणले बदलिँदो नेपाली समाजमा झनै सुखद बदलाव ल्याइदियो।
राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, वैदेशिक, कूटनीतिक, आर्थिक, खेतीपाती, व्यापारिक, औद्योगिक, प्रशासनिक, न्यायिक, वातावरणीय, जनसांख्यिकी, वैज्ञानिक, प्राविधिक, पारिवारिक, सांगीतिक, सञ्चार, सिनेमा, साहित्य, सम्बन्ध आदि यावत् क्षेत्रमा आएको फड्कोको रूप र सार अब लेखनमा खिच्ने काम हुनुपर्छ।
'एक्काइसौँ शताब्दीले के सोच्छ र के चाहन्छ?' भन्ने प्रश्नको जबाफ उही पुस्ताकै रचनाहरूमा खोज्नुपर्छ भन्ने हामीलाई लाग्यो।
दशक लामो सशस्त्र युद्ध, राजदरबार हत्याकाण्ड, राजाको सक्रिय शासन, जनआन्दोलन २०६२-६३, संविधानसभा, संघीयता, गणतन्त्र, जात-संस्कृति-भाषा-यौनिकता-क्षेत्रीयता आदि पहिचानको अभियान, नाकाबन्दी, भुइँचालो, कोभिड, ओली-दाहाल-देउवातन्त्र, स्वतन्त्रतन्त्र, स्वतन्त्र आदि अनेकन् प्रकरण देखे-भोगे-सुनेको पुस्तालाई अब के लाग्छ त?
उनीहरूको खास चासो के हो? उनीहरूलाई खुसी र दिक्क बनाउने विषय के हुन्? उनीहरूका आदर्श के हुन्? उनीहरूको लेख्ने शैली कस्तो हो? उनीहरूको भाषा के हो? उनीहरू पृथ्वीको कुन कुनामा कहाँ के गरिरहेका छन्? उनीहरू मेरो देश भन्छन् कि मेरो पृथ्वी भन्छन्?
आफ्ना अभिभावक, आमाबा, दाइदिदीहरूबारे के सोच्छन्? उनीहरूलाई करिअरको चिन्ताले कति सताउँछ? करिअरबारे के उपाय लाउँछन्? उनीहरूले पढ्ने किताब र मिडिया, हेर्ने सिनेमा र सिरिज, सुन्ने (हेर्ने?) संगीत र पडकास्ट कस्तो हो? सोसल मिडिया र एआईबारे उनीहरूको अनुभव के छ? यसका शक्ति र सीमाबारे के भन्छन्?
उनीहरू कस्तो डायरी लेख्छन्? उनीहरु कति निदाउँछन्? उनीहरू साथीसँगी, प्रेमीप्रेमिकाबारे के सोच्छन्?
उनीहरू यो देश कस्तो भइदिओस् भन्ने ठान्छन्? उनीहरू आफ्नो जस्तै उमेरमा सदाका लागि हराएका निर्मला पन्त, नवराज विश्वकर्माहरुबारे के सोच्छन्? यस्ता घटनाको असर उनीहरूमा कस्तो छ? दोहोरिन नदिन केही रचनात्मक उपाय छ कि?
पृथ्वी, प्रकृति, पर्यावरण, प्राणी, पन्छी, पारिस्थितिक प्रणाली, प्रदूषण (पानी, प्राण-पवन, प्रकाश) प्लास्टिक, पिरो धुवाँ, पेट्रोलियम आदिबारे उनीहरू के सोच्छन् र के चाहन्छन्? उनीहरूको नजरमा प्रेम, पेसा, पैसा, प्रसिद्धि, प्रविधि, पुस्तक, परिवार, पुस्तान्तरण, प्रजनन के हो? उनीहरूको नजरमा स्कुल, कलेज, करिअर, विवाह, देश, समाज, परिवर्तन, क्रान्ति, बसाइँसराइ के हो? उनीहरू पुँजीवाद, समाजवाद, लोकतन्त्र, कम्युनिजमजस्ता वादहरूउपर के बात् गर्छन्? उनीहरू हामी जस्ता उपदेशकहरूबाट कति दिक्क छन्?
यस्तै यस्तै अनेकन् प्रश्नमा उनीहरूका प्रश्न के हुन्? उनीहरूको भावना, धारणा, कल्पना, योजना, सपना के छ? हामी उनीहरूकै अक्षरमा उनीहरूलाई महसुस गर्न चाहन्छौं।

'निबन्ध के हो?'
कथा र कविता विधाबारे त खासै धेरै अन्यौल देखिएन। तर निबन्धबारे चाहिँ केही भन्नुपर्ने रहेछ।
निबन्ध खुला विधा। निबन्ध भनेकै निर्बन्ध अर्थात् बन्धनरहित। खुला आकाश। यही 'सेतोपाटी' मा छापिने लेख, टिप्पणी, अनुभूति, विचार, फिचर, ब्लग, ओपेड, सम्पादकीय, वार्ता, प्रोफाइल सबै निबन्ध हुन्। तपाईंले निबन्ध विधाअन्तर्गत आफ्ना संस्मरण, अनुभूति, भोगाइ, डायरी लेख्न सक्नहुन्छ। आफ्नो गाउँ-समाजका व्यक्तित्व, पाका मानिसहरूको जीवनकथा-भोगाइ पनि लेख्न सक्नुहुन्छ। आफ्नो गाउँठाउँका मिथक, विश्वास, लोककथा, लोकसंस्कृति पनि लेख्न सक्नुहुन्छ।
कतै घुम्नु जानुभएको छ भने यात्रा लेख्न सक्नुहुन्छ। मनमनै यात्रा गरेर मनोवाद लेख्न सक्नहुन्छ। तपाईं कमेडियन हुनुहुन्छ वा हुन चाहनुहुन्छ भने हास्य-व्यंग्य लेख्न सक्नुहुन्छ। तपाईं पुस्तक, सिनेमा, कलाहरूको पारखी हुनुहुन्छ भने तिनीहरूको रिभ्यु वा आफूमा परेको प्रभाव लेख्न सक्नुहुन्छ। चिठीको जमाना त अब खासै छैन तर कसैलाई सम्बोधन गरेर 'मेसेज' नै पनि लेख्न सक्नुहुन्छ। यी सबै निबन्ध नै हुन्। तपाईं निबन्ध भनेर यी सबै लेख्न सक्नुहुन्छ।
'अहिलेका केटाकेटीलाई यस्तो लेख्ने-सेख्नेमा चासो छैन,' केही अभिभावक, शिक्षक तथा अग्रजहरूबाट यस्तो पनि आयो। उहाँहरूको कुरा ठीकै पनि होला।
तर मैले यसो सोचेँ – लेखनमा चासो कसरी घट्यो त? यति धेरै स्कुल-कलेज छन्। त्यहाँ क्रियटिभ राइटिङ पढाइन्छ होला। नेपाली र अंग्रेजीमा केही साहित्य त पक्कै पढाइन्छ। लेख्नुको महत्त्वबारे केही त पक्कै भनिँदो हो। अनि सबभन्दा बढी समय लेखपढमा बित्ने बाल-किशोर-युवा उमेरमा लेखपढमै अरूचि कसरी त?
मलाई लाग्यो – हामीले लेख्नुको फाइदाबारे बताउन सकेनौं कि? कोर्समा मीठामीठा रचना नराखेर दलको भागबन्डामा कमसल साहित्य पो राख्यौं कि?
हामीले किशोरी उमेरमै लेख्न थालेका मलाला र एन फ्र्यांकको कथा सुनाएनौं कि? देवकोटाले 'मुनामदन', पारिजातले 'शिरीषको फूल' तपाईंहरूकै उमेरमा लेख्नुभएको हो भनेर जोस भरेनौं कि? लेखक पनि सेलिब्रिटी बन्न सक्छ भन्ने उदाहरण दिन शिक्षक-अभिभावक अपडेटेड भएनौं कि?
'नयाँ नानीहरू किन लेख्दैनन् त?'
उहाँहरू भन्नुहुन्छ, 'रूचि छैन।'
'किन रूचि छैन त?'
'रूचि नभएर रूचि छैन।'
रूचि नुहुनु कारण भयो कि परिणाम? मेरो विचारमा त यो कारण होइन, परिणाम हो।
खासगरी पढ्ने लत भएको मानिस नै लेखक हुने हो।
हामीले उनीहरूलाई पाठक बनाउन सक्यौं त? पाठक बन्न दियौं त? प्रमुख तीन अखबारका कोपिला, जूनकीरी, अंकुर कोभिडदेखि बन्द भएको भयै भइरहँदा हामीले चिन्ता गर्यौं त? अहिले यति धेरै मिडिया छन्, तर बालबालिकाका लागि कति छन्?
'गोरखापत्र' को उही सनातनी 'मुना', जो अहिले पनि १५ रूपैयाँमा किन्न पाइन्छ। यसको गुणस्तर कस्तो होला, हामी सजिलै अनुमान गर्न सक्छौं। सेतोपाटीले केटाकेटीका कुरा भनेर नियमित केही न केही छापिरहेको हुन्छ। 'शिक्षक' पत्रिकाले ज्ञानगुनका कुरा छापिरहेको हुन्छ। के यतिले मात्र पुग्छ त?
प्रजातन्त्र दिवसमा मेरो बाबुको विद्यालय बन्द भयो। दिउँसो कतै बाल पुस्तकालयमा लगिदिऊँ न त भन्दा काठमाडौंको मुटुमै वरपर कतै त्यस्तो पुस्तकालय छैन। जब पुस्तकालय नै नदेखी बाल्यकाल बित्छ, कोही कसरी लेखक बनोस्?
बालसाहित्यका नाममा दुई देश (उपदेश र देश) मात्र लेख्यौं कि हामीले? बालबालिकाको मनोविज्ञानविनाका गएगुज्रेका साहित्यको बाढी पो बगाइरहेका छौं कि हामीले? म अहिले छोरोका लागि बालसाहित्यको पाठक भएको हुँदा यति भन्दै छु — हाम्रा धेरैजसो बालसाहित्य बालबालिकाको बौद्धिक-मानसिक स्वास्थ्यका लागि हानिकारक छन्।
बाबुराम भट्टराई आफ्नो नातिसित खेलिरहनुहुन्छ। कति रमाइलो। तर बराक ओबामा र मिसेल ओबामाले बालसाहित्य पढ्दै युट्युब चलाइरहँदा भट्टराईलाई अझै अध्यक्ष हुनुपरेको छ।
स-साना नानीका पिता गगन थापाहरूको दिमागमा टोलटोलमा बाल पुस्तकालय चाहिन्छ भन्ने कहिले घुस्ने होला? आफ्नै निर्वाचन क्षेत्रमा त गर्न सक्नुहुन्थ्यो होला नि सुरूआत। अनि राम्रो अभ्यास सबैतिर फैलिन्थ्यो पनि होला।
धरहरा उभ्याएकामा नाक फुलाउने प्रधानमन्त्री केपी शर्मा ओलीले भुइँचालोको एक दशक हुनै लाग्दा पनि राष्ट्रिय पुस्तकालयको ठेगाना बताउन सकिरहनुभएको छैन। यति ज्ञानवान् प्रज्ञावान् प्रधानमन्त्रीबाट शासित हामी संसारभर एक कपी मात्र भएका दुर्लभ कागजात बचाउन नसक्ने/नचाहने कसरी भयौं?
'टिकटक र इन्स्टा, रिल्स र सर्टसको जमानामा कहाँ लामो लामो लेख्ने कुरा गरिरा के?'
सही हो। यो जमानालाई मेरो हार्दिक स्वागत छ। प्रविधिमा खराबी छैन।
यो मेरो कुरा, शिक्षक र अभिभावकलाई ल।
टिकटक र इन्स्टा, रिल्स र सर्टसमा अभिनय र नाचगानबाहेक अरू त बनेर काम छैन जस्तो पनि लाग्दो हो। तर सिनेमा होस् या संगीत, नाचौं वा गाऔं। यी सबै कामको जननी त लेखन नै हो। डायलग बोल्नेहरूले, अभिनय गर्नेहरूले, नाच्नेहरूले, गाउनेहरूले बुझ्नुपर्ने कुरा के हो भने शब्द नै त पहिलो हो।
मनोज गजुरेललाई मञ्चमा बोलिरहेको मात्र देख्नेले उनी लेखक हुन् भन्ने देखिरहेको हुँदैन। उनले पत्रपत्रिकाहरूमा ३० वर्षदेखि नियमित निबन्ध लेखेर किताबहरू नै लेखेका छन्। उनी देश-काल-परिस्थिति बुझ्दै आफै स्क्रिप्ट लेख्छन्। पर्दामा महजोडीको अभिनय मात्र देख्नेले उनीहरू 'महसन' का लेखक हुन्; धेरै सिनेमा, सिरियल, गीत, पुस्तक लेखेका छन् भन्ने थाहा पाइरहेका हुँदैनन्। हास्यव्यंग्य विधामा कति कलाकार आए, गए तर यी नाम नै अहिले पनि सक्रिय र सान्दर्भिक छन्, किनभने यिनीहरू स्वयं लेख्छन् पनि।
रिल्समा राजेश हमालले डायलग बोलेको देखिरहनेले उनले कसैले लेखेको डायलग बोलेका हुन् भन्ने थाहा नपाइरहेको हुन सक्छ। टिकटकमा कसैले कभर सङ गाइरहेको देख्नेले गायनभन्दा पहिले धून र शब्द हुन्छ भन्ने थाहा नपाएको हुन सक्छ।
नारायणगोपाल डेढ सयवटा जति मात्र गीत गाएर किन यति धेरै लोकप्रिय? किनकि, उहाँले राम्रो लेख्नेहरूका गीत/कविता गाउनुभयो। हेर्नुस् त लेखनको शक्ति कति रहेछ!
अभिनय गर्नु, गाउनु, बजाउनु, नाच्नु, कमेडी गर्नु, यी सबै असाध्यै राम्रा काम हुन्। यी कामसँगै जब आफैमा लेखन कला पनि छ भने त सुनमा सुगन्ध भइहाल्यो। यी सबै क्षेत्रमा सफल र टिकाउ कति बेला हुन सकिन्छ भने जब तपाईं राम्रो लेख्न पनि सक्नुहुन्छ।
कसैले राम्रो पडकास्ट चलाएको देखेर तपाईंलाई त्यस्तै बन्न मन लाग्ला। अनि तपाईं क्यामेरा, लाइट, माइक्रोफोन, स्टुडियो, एडिटिङतिर लाग्नुहोला। यो ठीक हो। तर तपाईं स्वयंमा रिसर्च गर्ने, प्रश्न बनाउने, स्क्रिप्ट लेख्ने सीप र कला पनि छ भने वा यतातिर पनि केही सिक्नुभयो भने तपाईं सजिलै अघि बढ्न सक्नुहुन्छ। तपाईं अध्ययनशील हुनुहुन्छ भने मात्र यात्रा लामो र मौलिक हुन्छ।
'अहिलेको पुस्तालाई विज्ञान र प्रविधिमा रूचि छ, यस्तो लेख्ने-सेख्नेतिर छैन।'
यस्तो पनि आयो मलाई। यो कुराले त मलाई एकदम खुसी दियो। हाम्रो साहित्य त्यति बेला गहिरो र फराकिलो हुन्छ, जति बेला पेसाहरूमा विविधता थपिन्छ। जब वैज्ञानिक, डक्टर, पाइलट, उद्यमी, इन्जिनियर, प्रविधिज्ञ आदि अनेक पेसाकर्मीले आफ्नो क्षेत्रको ज्ञान लेख्नुहुन्छ नि, त्यो धेरै सुन्दर हुन्छ।
अस्ति भर्खर चार्ल्स डार्विनको जन्मदिन थियो। उनको काम हामीले कसरी थाहा पायौं? उनको किताबबाट। त्यो विज्ञान साहित्य हो। ल्याबमै बसिरहेर त कोही बस्दैन, उसले जर्नलमा लेख लेख्छ। जर्नलमा लेखेको ज्ञानलाई जब तपाईं निरक्षर मान्छेले पनि बुझ्ने गरी आफ्नो भाषामा लेख्न सक्नुहुन्छ नि, तपाईं वैज्ञानिक जीवनकुमार प्रसाईंजस्तो राम्रो लेखक बन्नुभयो। विज्ञानइतरको फराकिलो दुनियाँमा पनि तपाईंको नाम अनि दाम।
वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठको नाम सुन्नुभएकै होला। उहाँ वैज्ञानिक लेखक हुनुहुन्छ। उहाँले धेरै साहित्य पढ्नुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानमा भूपी शेरचन, माधव घिमिरेहरूको संगत गर्नुभयो। उहाँ आफ्ना हर वैज्ञानिक रचनाको सुरूआत कवितांशबाट गर्नुहुन्छ। जटिल विषयलाई सबैले बुझ्ने गरी कविता जसरी लेख्नुहुन्छ।
उहाँ ९० वर्षको उमेरसम्म पनि लेखिरहनुभएकै छ। लेखकका रूपमा उहाँको ठूलो नाम छ र केही त यसैबाट दाम पनि छ। वैज्ञानिक कति भए होलान् वा छन् तर तीर्थबहादुरमा लेखपढको अम्मल भएकाले उहाँ नै विज्ञानइतरको फराकिलो घेरोमा पनि सुपरिचित हुनुहुन्छ। अनि लेख्नुको फाइदा के रहेछ भने, ९० वर्षसम्म पनि काम गरिरहन पाइने रहेछ। रिटायर्ड हुन नपर्ने।
पोहोर साल मैले नेपालको पहिलो सिनेमा 'आमा' का लेखक दुर्गाप्रसाद श्रेष्ठसँग अन्तर्वार्ता गरेको थिएँ। उहाँ ८४ वर्षको उमेरमा भैंसेपाटीबाट बागबजारको रत्न पुस्तक भण्डार आएर नियमित लेखपढ, अनुवाद र सम्पादन गरिरहनुभएको थियो। अझै गरिरहनुभएको छ। उहाँले प्रतिष्ठित जगदम्बाश्री सम्मान लेखक भएकैले पाउनुभएको हो।
यसबाट मैले के बुझेँ भने लेखनको आयु लामो हुने रहेछ। उहाँसँगै काम गरेका कलाकार, निर्देशक, प्रविधिज्ञहरू कता कता पुगे होलान्, तर लेखक चाहिँ अझै सक्रिय। बजारका लागि अनुहार र स्वरको आयु हुँदो रहेछ तर दिल र दिमागको भने नहुँदो रहेछ।
बिपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्छ। तर उहाँको कद यति पदले मात्र बढेको होइन। आख्यान र गैरआख्यानका एक दर्जन पुस्तकका कारण उहाँ अरू नेताभन्दा माथि हुनुहुन्छ।
जुन पेसा-व्यवसाय हेरे पनि अन्ततः त्यसकै आयु लामो हुँदो रहेछ, जो लेखक हुँदो रहेछ। त्यही मान्छे लेखक हुँदो रहेछ, जो पाठक हुँदो रहेछ।
***