परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतको ओडियास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा उत्पन्न समस्या समाधान भएको बताएकी छन्।
किटमा पढ्ने नेपालकी छात्रा प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको परराष्ट्र मन्त्री राणाको भनाइ छ।
आफूले बुधबार ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको उनले बताइन्।
यो पनि: किन जान्छन् यति धेरै नेपाली विद्यार्थी कलिंग इन्स्टिच्युटमा पढ्न?
भारतीय मन्त्री सुरजले पनि उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय तथा दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएको परराष्ट्र मन्त्री राणाको भनाइ छ।
‘उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्यौं। मृतकलाई न्याय र दोषीमाथि कारबाहीको माग त छँदैछ, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित पठनपाठनको व्यवस्थाका लागि सम्बद्ध निकायहरुबीच समन्वय गर्यौं। त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुर्व्यवहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ,’ उनले भनिन्।
विद्यार्थी मृत्युको घटनाको छानबिनका लागि ओडिसा सरकारले नै एक उच्चस्तरीय छानबिन समिति गठन गरिसकेकाले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी काबराहीको माग नेपालले गरेको छ।
घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको उनले बताइन्।
नेपाली विद्यार्थी हाल विश्वभर पुगेका तर सबैको तथ्यांक परराष्ट्रसँग नरहेकाले आगामी दिनमा यस्तो तथ्यांक परराष्ट्रमा नै रहने व्यवस्था गर्न सकिएमा उनीहरूको उद्धारका लागि सजिलो हुने पनि उनले बताइन्।
‘नेपालीहरु को कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा परराष्ट्रलाई थाहा छैन, तर समस्यामा परेपछि र उद्धार गर्नुपर्ने भएपछि थाहा हुन्छ। त्यसपछि लगत्तै उनीहरुको उद्धार गर्नका लागि परराष्ट्रसँग पर्याप्त जनशक्ति पनि छैन। यसकारण पनि समस्या भइरहेको छ,’ उनले भनिन्।
परराष्ट्रमन्त्री राणा ओमनको मस्कटमा आयोजित आठौं हिन्द महासागर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्केकी हुन्। भारतीय विदेशमन्त्री एस जयशंकर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा उनी फागुन २ गते ओमन गएकी थिइन्।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरूलाई जानकारी गराउँदै मन्त्री राणाले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताइन्।
सो सम्मेलनमा हिन्द महासागरीय क्षेत्रका ४० देशका विदेश मन्त्रीस्तरीय सहभागिता रहेको थियो। सो सम्मेलनमा उनले ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्नेसम्बन्धी सत्रलाई सम्बोधन गरेकी थिइन्।