नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अनेरास्ववियू पुनर्गठन गरिनु नेतृत्वको निरंकुश र नोकरशाही शैली भएको बताएका छन्।
एक नेताका अनुसार पार्टी पोलिटब्युरोको बुधबार बसेको बैठकमा उनले पार्टीमा गुटबन्दीपूर्ण, विभाजनकारी र विघटनकारी तरिका मौलाएको बताएका हुन्।
एकीकृत समाजवादीले जारी गरेको चौथो अन्तरपार्टी निर्देशनमा अनेरास्ववियू र युवा संघको अध्यक्षबाट आरती लामा र कृष्णकुमार विश्वकर्मालाई बिदा दिइएको थियो। अहिले अनेरास्ववियूमा महेश श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिइएको छ।
खनालले बैठकमा अनेरास्ववियू र युवा संघलाई अधिवेशन गर्न नदिई पुनर्गठन गरिनु गलत भएको बताएका हुन्। यसले जनसंगठनलाई विभाजनको निम्तो दिइएको पनि टिप्पणी गरेको ती नेताले बताए।
'अहिले पार्टीमा फेरि टिके प्रथा, ठाडो बर्खास्तगी गर्ने, ठाडो नियुक्ति गर्ने, मन नपर्नेलाई हटाउने, मन परेकालाई ठाडो नियुक्ति गर्ने, छँदाखाँदाका कमिटीहरू विघटन गर्ने, उनीहरूका आफ्ना सम्मेलन र अधिवेशन गर्न नदिने, मनोमानी ढंगले नियुक्ति गर्ने, संगठनका साथीहरूमा विभाजन ल्याउने गुटबन्दीपूर्ण, विभाजनकारी र विघटनकारी तरिका मौलाएको छ,' खनालका भनाइ उद्धृत गर्दै ती नेताले भने, 'हाम्रो पार्टीले यस्ता तरिकाको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्छ। यो निरंकुश तरिका हो, यो नोकरशाही तरिका हो।'
आजको युगमा यस्तो तरिका नचल्ने र स्वीकार्य पनि नहुने तथा यसरी पार्टी नचल्ने बताएको ती पदाधिकारीको दाबी छ।
सबै जनसंगठनहरूप्रति आधारभूत रूपले समान नीति लिनुपर्ने खनालको भनाइ थियो। नेतृत्वबाट यस्तो हुन नसकेको पनि खनालले बताएका थिए।
'कसैलाई काखा कसैलाई पाखाको नीति अपनाउनु हुँदैन। कुनै जनसंगठनप्रति एक प्रकारको नीति कुनै अर्को जनसंगठनहरूलाई अर्को खालको नीति अख्तियार गर्ने पक्षपातपूर्ण डबल स्ट्यान्डर्डको नीति अपनाउन पाइँदैन। हाम्रा पार्टीका वरिपरि यति बेला २५ वटा जनसंगठनहरू छन्। ती सबै जनसंगठनलाई पार्टी महाअधिवेशनको भावना अनुरूप जनवादी ढंगले रूपान्तरित हुने र आवश्यकता अनुसार नेतृत्व हस्तान्तरण हुने समान अवसर दिनुपर्छ,' खनालका भनाइ उद्धृत गर्दै ती नेताले भने।
खनालले थप भने, 'कुनै जनसंगठनका प्रमुखहरूलाई ठाडो निर्देशनका आधारमा पदबाट हटाउने, उनीहरूलाई जनवादी ढंगले निर्णय गर्न पनि नदिने र पार्टी अपानि जारी गरेर हटाउने अनि कुनैलाई उनीहरूको प्रक्रिया पूरा गरेर नेतृत्व हस्तान्तरण गर भन्ने गत स्थायी समितिको यो निर्णय बिल्कुल पक्षपातपूर्ण, डबल स्ट्यान्डर्ड युक्त र पूर्वाग्राही रहेको देखिन्छ।'
नेतृत्वको यही गलत निर्णयको कारणले अनेरास्ववियूको नेतृत्व पंक्ति विवादग्रस्त बन्न पुगेको उनले बताए। अझ पार्टीको निर्देशन अनुरूप खास व्यक्तिहरूलाई खास खास पदमा ठाडो नियुक्तिको घोषणा गर्दा अनेरास्ववियूको आफ्नो नेतृत्व पार्टी कार्यदिशा अनुरूप आफै चयन गर्न पाउने जनवादी अधिकार निर्ममतापूर्वक पार्टी नेतृत्वले कुल्चिएको उनले बताए।
त्यसले अनेरास्ववियूलाई विभाजनको सँघारमा पुर्याएको खनालले बताए।
'आजको युग समाजवादतिर अघि बढ्ने युग हो। हामी पुँजीवादी लोकतन्त्रभन्दा पनि अघि बढेर समाजवादी लोकतन्त्रतिर अघि बढ्दै छौं। यस्तो युगमा समाजवादी चेतना र प्रतिबद्धताले समेत जागरूक बन्दै गरेका युवाहरूलाई निरंकुश र नोकरशाही शैलीमा मनपरी ढंगले हाक्न खोजेर हाँक्न सकिँदैन। पार्टी नेतृत्वले जथाभाबी डण्डा चलाएर पार्टी चल्न सक्दैन र चलाउन सकिँदैन भन्ने कुरा आत्मसात गर्न सक्नुपर्छ। अन्यथा दुर्भाग्यपूर्ण अवस्था आइलाग्ने कुरा अवश्यभावी हुन्छ,' खनालको भनाइ छ।
उनले मंगलबारबाट नै अनेरास्ववियू विभाजनतिर जाने बिन्दुमा पुगेको पनि बताए।
'मैले त्यो कुरा म सप्तरी जिल्लाको एउटा पार्टी कार्यक्रममा सहभागी भइरहेको बेला थाहा पाएँ। त्यसले मलाई बडो स्तब्ध बनायो। मैले विद्यार्थी नेताहरूलाई भने अहिले त्यस्तो केही पनि नगर्नुहोस्, म ३० गतेतिर फर्कन्छु, तपाईंहरूको कुरा सुन्छु, अनि जे गर्नुपर्ने हो त्यो गर्नुहोला। अहिले पर्खनुहोस् भने। पार्टीको तर्फबाट भने उनीहरूलाई धाक धम्की दिने, कारबाहीको त्रास देखाउने र पेलपाल ठोकठाक गरेर अघि बढ्ने तरिका अपनाइएको रहेछ,' खनालले बैठकमा भने।
आफूले आएर बुझ्दा अनेरास्ववियू विभाजनको मुखमै पुगेको पाएको पनि खनालले बताए। पार्टीका निर्णयहरू अपानिले नै प्रस्ट पारेको आफूले त्यसबारे केही टिप्पणी नगरको पनि उनले बताए।
'पार्टी बैठकहरू आइरहेका थिए। स्थायी कमिटीले गरेको निर्णय भएकाले त्यही बैठकमा उठाउँला भन्ने सोचेँ। तर युवा विद्यार्थीको संगठन भने ५ गते फागुनमा विभाजनकै लागि तम्तयार भइसकेको रहेछ। मैंले उनीहरूसँग कुरा गरेँ। उनीहरूले आफ्ना जनवादी अधिकारहरू माथि ठाडो अतिक्रमण भएको मार्मिक कथाहरू सुनाए । त्यो बिल्कुल जायज थियो। पार्टीले गरेको निर्णय गलत र निरंकुश थियो,' खनालले भने।
'त्यसैले मैले उनीहरूलाई भनेँ– तपाईंहरू किन त्यो बिन्दुमा पुग्नुभएको हो, म आफै आउँछु। तपाईंहरूका कुरा सुन्छु र यो गम्भीर समस्याको समाधान के हुन्छ त्यो पनि हामी बसेरै पत्ता लगाउन म सहयोग गर्छु,' उनले थप भने, 'त्यो समझदारी साथ म उनीहरुले आयोजना गरेको कार्यक्रममा गएँ।'
खनाल आरती लामा समूहले आयोजना गरको भेलामा प्रमुख अतिथिका रूपमा पुगेका थिए। त्यहाँ पुगेर आफूले समानान्तर कमिटी गठन गर्न नदिएको पनि उनले बैठकमा भने।
'पार्टीका स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू यही फागुन ६, ७, ८ र ९ गते गर्ने निर्णय भएको छ। हामी त्यसमा छलफल गर्नेछौँ। म तपाईंहरूको समस्या पार्टीमा उठाउनेछु। अहिले यो घोषणा गर्ने कार्यक्रम स्थगित गरौं भनेपछि त्यसमा सहमति भयो। त्यो सहमति भएपछि म उहाँहरूको भेलामा पार्टी प्यालेस गएँ,' उनले भने।
महासचिव घनश्याम भूसाल र अरू नेताहरूले भेलामा नजान भने पनि आफू गएको खनालले बताए। महासचिव र नेताहरूको आग्रह मानेको भए सोमबार पार्टीका निम्ती दुर्भाग्यपूर्ण दिन हुने पनि उनको भनाइ छ।
'फागुन ५ हाम्रो पार्टीका निम्ति दुर्भाग्यपूर्ण दिन बन्ने थियो। त्यसलाई कसैले रोक्ने स्थिति थिएन। कुनै नेता त्यस समस्यालाई समाधान गर्न लागेको पनि देखिनँ। त्यसैले म आफ्नै जिम्मेवारी बोधका साथ उक्त भेलामा गएँ। उहाँहरूलाई सम्झाएँ। उहाँहरूले कार्यकर्ता भेलाको ब्यानर राख्नुभएको थियो, त्यो पनि हटाउन लगाएँ। तत्कालका निम्ति पार्टीलाई विभाजनको दुःखद सँघारबाट बचाउने काम भएको छ। यो समझदारीमा आउने सबै विद्यार्थी नेताहरूलाई मैले हार्दिक धन्यवाद दिएको छु। यो कमिटीबाट पनि म उनीहरूप्रति हार्दिक धन्यवाद दिन चाहन्छु,' खनालले बैठकमा भने।