नेकपा (माओवादी केन्द्र)को अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा छलफल गरेको छ।
काठमाडौंमा जारी छलफलमा पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा पार्टी नेताहरू सहभागी छन्।
कार्यक्रममा इन्ष्टिच्युट फर गभर्नमेन्ट एन्ड पब्लिक अफेयर्स (आइजीपीए) ले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन स्थितिः प्रमुख निस्कर्ष र सुझावहरु तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजनाहरू समस्या र सम्भावित समाधानहरुको पहिचान विषयमा प्रस्तुतिकरण दिनेछन्।
यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वाधार, शासन र राजनीतिक दलः चुनौतीहरु र आगामी बाटो विषयमा विशेष सम्बोधन गर्ने विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुन: अनन्तले जानकारी दिए।
राष्ट्रिय गौरवका आयोजना र विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे संसद् र संसदबाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
कार्यक्रमले प्रमुख प्रतिपक्षका हैसियतमा संघीय संसदका दुवै सदनमा आयोजनाहरुको अवस्था र सरकारका गलत कामकारबाहीबारे बोल्न सांसदहरुलाई सहयोग पुग्ने विश्वास लिइएको पुनले उल्लेख गरे।
कार्यक्रममा निर्धाणाधीन अवस्थामा रहेका राष्ट्यि गौरवका आयोजनाहरु हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग, उत्तर दक्षिण कोशी करिडोर, उत्तर दक्षिण कालीगण्डकी करिडोर, उत्तर दक्षिण कर्णाली करिडोेर, काठमाण्डौं तराई एक्सप्रेस वे (फास्ट ट्र्याक), लुम्बिनी क्षेत्र विकास आयोजना, मेलम्ची खानेपानी आयोजना, बुढीगण्डकी जलासयुक्त परियोजना लगायतको प्रगति र समस्याको पहिचानका विषयमा छलफल भइरहेको छ ।