नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार व्यापारी र उद्योगपति बन्न नहुने बताएका छन्।
वैदेशिक सहयोगको अर्थ राजनीतिबारे गोविन्द पोखरेल नेतृत्वको पार्टीको आर्थिक नीति तथा योजना विभागले बुधबार केन्द्रीय कार्यालय सानेपामा गरेको गोष्ठीमा बोल्दै सभापति देउवाले भने, ‘एकपटक गिरिजाबाबुको धेरै विरोध भयो, निजीकरण गर्यो भनेर। त्यसकारण व्यापार गर्ने व्यापारीले हो, उद्योग खोल्ने उद्योगपतिले हो। सरकार व्यापारी र उद्योगपति बन्ने कुरा छैन।’
एमसिसी संसदबाट पास गर्ने बेलामा विरोध भएको स्मरण गर्दै सभापति देउवाले अनुदान सहयोगबाट नेपाललाई फाइदा नै भएको बताए।
‘एमसिसी संसदमा पास गर्ने बेलामा विरोध भयो, तर अहिले आएर थाहा भयो कि त्यो राम्रो रहेछ र नेपाललाई फाइदा नै गरेको छ, अनुदान आएको हो, ऋण होइन,’ सभापति देउवाले भने।
देश ऋणको 'ट्र्याप' मा पर्न नहुने पनि देउवाले बताए। ‘ऋण लिन हुन्छ कि हुँदैन भनेर नेपालमा बहस पनि हुने गरेको छ, यसले नेपाललाई फाइदा पनि गरेको छ जस्तो लाग्छ,’ उनले भने।
कांग्रेसको आर्थिक नीति तथा योजना विभागले डिल्लीराज खनाल, मीनबहादुर श्रेष्ठ, रामेश्वर खनाल, प्रा.डा. सञ्जय आचार्य, ईन्द्र अधिकारी र सेमन्त दाहाललगायतलाई बोलाएर गोष्ठी गरेको थियो।
यो पनि: वैदेशिक सहायता नीतिबारे सबै दलको एकै धारणा बनाउन जरूरी छ: गगन थापा