वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन ऐन संशोधनको तयारी सुरू भइसकेको बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरूले राखेको जिज्ञासाको जबाफ दिँदै मन्त्री ठकुरीले ऐन संशोधनको लागि कार्यदल गठन गरिएको बताएका हुन्।
उनले विद्यमान कानूनमा देखिएका जटिलता र वाधाहरू फुकाउने गरी ऐन संशोधन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको बताए।
उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र वातावरण संरक्षण ऐन समेत संशोधनको तयारीमा रहेको बताए।
उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र वातावरण संरक्षण ऐन संशोधन गर्नको लागि समेत मन्त्रालयले गठन गरेका कार्यदलहरूले काम गरिरहेको बताए।
उनले ऐन संशोधनका क्रममा सरोकारवाला सबैसँग छलफल गरेर हाल रहेका समस्या समाधान हुनेगरी ऐन संशोधन गरिने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री ठकुरीले भने, ‘हामी सरोकारवाला निकायहरू छुट्टै बसेर एउटा रणनीति बनाउनुपर्छ भन्ने लाग्छ। वन ऐन संशोधन गर्ने कुरा हाम्रो जिम्मामा छ। हामीले ऐन संशोधनका लागि एउटा टिम पनि बनाएका छौं। वन मन्त्रालयका सहसचिवको नेतृत्वमा वन ऐन संशोधनको एउटा कार्यदल बनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधनका लागि पनि अर्को सहसचिवको नेतृत्वमा कार्यदल बनाएका छौं। वातावरण संरक्षण ऐन संशोधन गर्नको लागि समेत कार्यदल बनेको छ। संशोधनको खाका तयार पार्नको लागि हामीले टिम तयार पारिसकेका छौं। उहाँहरूले सबै सरोकारवाला निकायहरूसँग छलफल गर्नुहुनेछ। अहिलेसम्म वन तथा निकुञ्जहरूमा रहेका समस्या र बाधाहरू फुकाउने गरी ऐन संशोधन गर्ने प्रक्रियामा छौं।’
उनले सिंहदरबारलाई प्लास्टिकमुक्त बनाइसेको समेत दाबी गरे।—न्युज एजेन्सी नेपाल