काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरू भएको छ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बिहान ११ बजेदेखि बहस सुरू भएको हो।
आज प्रतिवादी तर्फका वकिलहरूले बहस गर्नेछन्। अहिले वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरिरहेका छन्।
लामिछाने आइतबार अदालतमा हाजिर भएपछि त्यसदिन उनको बयान लिएर अदालतले प्रहरीको जिम्मा लगाएको थियो।
सोमबारदेखि मात्रै उक्त मुद्दामा लामिछानेको थुनछेक बहस सुरू भएको थियो। सरकारी वकिलको बहस लम्बिँदा त्यसदिन प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने समय अपुग भएपछि लामिछानेलाई हिरासतमै पठाइएको थियो।
मंगलबार माघेसंक्रान्तिको सार्वजनिक बिदा भएका कारण बुधबारदेखि थुनछेक बहसले निरन्तरता पाएको हो।
लामिछानेको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्त छन्।
उनीहरूको बहसपछि सरकारी वकिलले जबाफी बहस गर्नेछन्। त्यसछि न्यायाधीशले लामिछानेलाई कारागार पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि बाहिरै रहेर मुद्दा लड्न दिने भन्ने विषयमा आदेश गर्नेछन्।
स्वर्णलक्ष्मी सहकारीकै मुद्दामा प्रतिवादी रहेका २ जना यसअघि नै धरौटी तिरेर छुटिसकेका छन्।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ ।
लामिछाने र उनी र गोर्खा मिडियाका तत्कालीन सञ्चालक जिबी राईको हकमा पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ संयुक्त बिगो मागदाबी गरिएको छ।