गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्दै उनले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका हुन्।
'हामीसँग प्राधिकरण छ, प्राधिकरणलाई पनि बलियो बनाउन जरुरी छ। जनशक्तिका रुपले, आर्थिक रुपले, सूचना प्रणालीदेखि सबै विषयमा सक्षम बनाउन जरुरी छ। कानूनी रुपले संरचना निर्माण गरेका छौँ तर अब ति संरचनालाई सबै किसिमले बलियो बनाउन जरुरी छ। विपद् जोखिमलाई न्युनिकरण गर्नका निमित्त जति पनि संरचना हामीसँग छन्, तिनलाई बलियो र सक्षम बनाउन जरुरी छ,' उनले भने।
मन्त्री लेखकले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको पनि बताए। नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै उनले मिलेर विपद् जोखिम न्युनिकरणका लागि पहल गर्न आवश्यक रहेको बताए।
‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौँ। हाम्रो भुगोल पनि विपद्को जोखिमकै स्थितिमा छ, भुगोलका कारणले पनि। कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन्। धेरै ज्यादा जोखिमको अवस्थामा हामी रहेका छौँ। त्यसो भएको हुनाले यसलाई न्युनिकरण गर्नका निमित्त हामी सबै मिलेर मात्रै सम्भव छ। हामी सबै मिलेर अघि बढ्यौँ भने पूर्वानुमान, सूचनाको कुरामा, तत्काल उद्धार गर्ने विषय होस्, पुनःनिर्माण, पुनःस्थापनाका लागि हामी सबै मिलेर अघि बढ्न जरुरी छ,' उनले भने।
(न्युज एजेन्सी नेपालबाट)