उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय मेला महोत्सवमा अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन्।
आइतबार पोखरामा आयोजित भदौरे पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेलाको समापन समारोहमा बोल्दै उनले स्थानीय मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुग्ने बताए।
मेला महोत्सवले स्थानीय उत्पादन प्रवर्द्धन र कला संस्कृतिको संरक्षणमा मेला महोत्सवको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ।
‘गाउँमा जे छ त्यसलाई हामी सबै मिलेर सुख, दु:ख बाँडेर जीवनलाई खुसी पार्नका लागि हामी लाग्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘महोत्सवले सहरमा मात्र होइन विकट ठाउँमा पनि आन्तरिक पर्यटक पनि बढ्छ। सकेसम्म विदेशी पाहुनालाई पनि आकिर्षत गर्न सकियो भने अझ राम्रो हुन्छ।’
नागरिकको जीवन सहज बनाउनका लागि सरकारले काम गरिरहेको पनि उनले बताए।
‘संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधानले दिएको अधिकार तीनै तहका सरकारलाई दिने गरी आवश्यक संघीय कानून बनाउनुपर्नेमा तीव्र रुपमा काम भइरहेको छ,’ उनले भने।
प्राप्त अधिकार संस्थागत गर्दै हरेक नेपालीको जीवन सहज बनाउनुपर्छ भन्ने चाहनालाई पूरा गर्न सरकार लागिपरेको उनले बताए।