प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने बताएका छन्।
शनिबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढंगले सरकार अघि बढ्ने बताएका हुन्।
‘अब जब दिने शिक्षा दिने हैन। जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढंगले जब दिने शिक्षातर्फ अघि बढ्का छौं, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमूनाका रूपमा अघि बढिरहेका छन्,’ केयूका कुलपतिसमेत रहेका उनले भने।
उनले विद्यार्थीलाई पढाईसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गरे।
प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्रै दक्ष पनि नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताए।
‘सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताए।
‘विद्यार्थीको आचारण, नैतिकता र सोँच सकारात्मक हुनुपर्छ,’ उनले भने, ‘विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ, सफलताका लागि अझ परिस्कृति म्यानर मिसाउनुपर्छ।’