परराष्ट्रमन्त्री आरजु राणा देउवा र युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राबीच भेटवार्ता भएको छ।
बेल्जियमको ब्रसेल्समा बिहीबार भएको भेटमा नेपाल इयु सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्ष मनाइरहेको बारेमा उनीहरूबीच कुराकानी भएको थियो।
नेपाल र युरोपियन युनियनबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
नेपाल सदैव प्रजातन्त्र, कानुनी शासन र मानवअधिकारका पक्षमा रहेको जानकारी गराउँदै मन्त्री राणाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गरेकी थिइन्।
युरोपियन युनियन नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको स्मरण गर्दै उनले नेपालको आर्थिक सामाजिक क्षेत्रमा युनियनले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद पनि दिइन्।
त्यस अवसरमा परराष्ट्रमन्त्री राणाले नेपालका तर्फबाट आफूले केही दिनमात्र अघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि गराएकी थिइन्।
मन्त्री राणाले कमिसनर ओपकेलाई नेपालमा परेको जलवायु परिवर्तनको असर तथा पछिल्ला वर्षहरूमा यसबाट नेपालले व्यहोर्नुपरिरहेको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा युरोपियन युनियनसँग सहयोगको अपिल गरेकी थिइन्।
युरोपेली आकासमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि कमिसनर ओपकेलाई उनले आग्रह गरेको मन्त्रीको सचिवालयले जनाएको छ।
यसका कारण नेपालबाट सिधा उडान हुन नसक्दा नेपाली नागरिकलाई युरोप आवातजावतमा समस्या पर्न गएकोप्रति उनले युरोपियन युनियनको ध्यानाकर्षण गराएकी छन्।