सिरियाको सेनाले आफ्ना सदस्यलाई राष्ट्रपति बसर अल असदको शासन अन्त्य भएको जानकारी गराएको छ।
शनिबारदेखि सिरियाका विभिन्न सहर कब्जा गर्दै आइतबार बिहान विद्रोही लडाकुहरू राजधानी दमास्कस पुगेका थिए। उनीहरूले राष्ट्रपति असद दमास्कस छाडेर भागेको दाबी गरेका थिए।
त्यसपछि सेनाले राष्ट्रपति असदको २४ वर्षे तानाशाही शासनको अन्त्य भएको भनेर मातहतका अधिकारीहरुलाई जानकारी गराएको एक अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
सेनाकै अधिकारीहरुले पनि राष्ट्रपति असदले देश छाडेको बताएका रोयटर्सले आफ्नो समाचारमा लेखेको छ।
लडाकू समूह दमास्कस छिरेपछि र राष्ट्रपतिले देश छाडेपछि सिरियाको प्रधानमन्त्री मोहम्मद गाजी जलालीले आफू विद्रोहीहरूलाई सत्ता हस्तान्तरणका लागि तयार रहेको बताएका समाचार संस्था एशोशियटेड प्रेसले उल्लेख गरेको छ।
आइतबार नै विद्रोही नेताले सरकारी टेलिभिजिनबाट सिरियाली नागरिकलाई सम्बोधन गर्ने तयारी छ।