नेपाल र चीनबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चीनको राजधानी बेइजिङ गएका हुन्।
दुई पक्षले टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, काठमाडौं–हेटौंडा पोडवे, जिलोङ–केरुङ–काठमाडौं क्रसबोर्डर रेल्वे, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी क्रसबोर्डर प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति गर्ने लगायतका विषयमा समझदारी गर्ने तयारी गरेका थिए।
समझदारी पत्रमा हस्ताक्षर हुनुअघि ओली र छ्याङबीच वार्ता भएको थियो। प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन्।
कुन कुन समझदारीपत्रमा हस्ताक्षर भएको भन्नेबारे विस्तृतमा आउँन बाँकी छ।