नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राज्यद्वारा बेपत्ता पारिएका नागरिकको स्थिति अविलम्ब सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।
बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्ने शान्ति प्रक्रियाको महत्वपूर्ण काम बाँकी रहेको पनि उनले बताए।
झापाको दमकस्थित पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा श्रेष्ठले लामो कसरतपछि सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन राष्ट्रिय सहमतिका साथ पारित भएको बताए।
'टिआरसी विधेयक पारित भएको छ, अब बेपत्ता नागरिकको स्थिति अविलम्ब सार्वजनिक गरिनुपर्दछ,' उनले भने।
'जनयुद्ध'का दौरानमा सेनाको भैरवनाथ गणबाट बेपत्ता बनाइएका पुष्प र धीरेन्द्र जस्ता योद्धाहरूको अतुलनीय योगदानकै कारण मुलुकमा संघीय लोकतन्त्रक गणतन्त्र वहाली भएको उनको भनाइ छ।
‘हामी बाँचेकाहरूले उहाँहरूका सपना साकार पार्न लाग्नुपर्दछ,' उनले भने।
दमक-१ का २६ वर्षीय पुष्पराज बस्नेत र २० वर्षीय धीरेन्द्र बस्नेत वि.सं. २०६० सालमा तत्कालीन शाही नेपाली सेनाको भैरवनाथ गणबाट बेपत्ता पारिएका थिए।
उनीहरूकै सम्मान र सम्झनामा प्रतिष्ठान स्थापना गरी सिटिइभिटी अन्तर्गत गैरनाफामुलक बहुप्राविधिक शिक्षालय सञ्चालन गरिएको अध्यक्ष तीर्थराज बस्नेतले बताए।
कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईले पुष्प-धीरेन्द्रको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताएकी थिइन्।