नेपाल र बंगलादेशबीच हुने साफ च्याम्पियनसिप- २०२४ को फाइनल भिडन्तको टिकट बिक्रीको विषयमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश दिएको छ।
टिकटको अधिकार पाएको माउन्ट एभरेस्ट एन्ड इभेन्ट्स प्रालिले एन्फाले सम्झौता रद्द गरेको भन्दै रिट दायर गरेको थियो।
यसअघि एन्फाले क्षमताभन्दा बढी दर्शकको टिकट काटेको भन्दै माउन्ट एभरेस्टसँगको सम्झौता रद्द गर्दै आफ्नै टिकट बिक्री गरेको थियो।
एन्फाले सम्झौता रद्द गर्दासम्म ४१ सय टिकट बिक्री भएको थियो। सो टिकटलाई मान्यता दिँदै एन्फाले आफूले १० हजार टिकट बेचेको थियो।
एन्फाले टिकट बिक्रीका लागि माउन्ट एभरेस्टसँग ८० लाखमा सम्झौता गरेको थियो।
गत आइतबार भारतविरूद्धको सेमिफाइनलमा १८ हजार दर्शक रंगशाला प्रवेश गरेको सार्वजनिक भएको थियो। जबकी रंगशालाको क्षमता १४ हजार बढी हो।
भारतविरूद्धको खेलमा दर्शकले अभद्र व्यवहार समेत गरेका थिए। विपक्षी खेलाडीमाथि पानीको बोतल समेत फ्याँकिएको थियो भने कतिपय दर्शक निषेध गरिएको हेलमेट लगाएर रंगशाला प्रवेश गरेका थिए।
आज बंगालदेश र नेपालबीच हुने फाइनल भिडन्तमा पनि एक घन्टा अगावै रंगशाला भरिएको छ। अझै कतिपय दर्शक लाइनमा छन्। प्रधानमन्त्री केपी शर्मा ओली रंगशालामा खेल हेर्न आउने भएपछि सुरक्षामा कडाइ गरिएको छ। तर सित्तैमा बाँडिने पासका कारण अहिले भिआइपी प्यारापिट पूर्ण रूपमा भरिएको छ।