नेकपा एमालेले दस वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालय भवन बनाउन सहयोग प्राप्त गरेको विषयलाई मानवीयताको हिसाबले लिन आग्रह गरेको छ।
आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा पार्टी महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन्।
उनले व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषय स्वार्थ बाझिने नभएको पनि जिकिर गरे।
'यो विषयमा स्वार्थ बाझिनुपर्ने कुनै कारण छैन। खास गरी दस वर्षअगाडिको भूकम्पबाट राज्यका धेरै संरचना क्षतिग्रस्त भए। हजारौं नागरिकहरूका घरहरू भत्किए। स्वाभाविक रूपमा अन्तर्राष्ट्रिय निकायहरूसमेत संलग्न भएर राहत, उद्धार र पुनर्निर्माणका कामहरू भए। हाम्रै पार्टीको सरकारले जनताका घर, सार्वजनिक भवन बनाउने, सम्पदा क्षेत्र पुनर्निर्माण गर्ने कामको सफलतापूर्वक नेतृत्व पनि गर्यो। त्यही क्रममा क्षतिग्रस्त भएको भवन हो हाम्रो कार्यालय,' उनले भने।
यो पनि पढ्नुस्ः एमाले सचिवालयलाई प्रश्न – सुधारको नेतृत्व गर्ने कि एक अर्बको सम्पत्ति दान थाप्ने?
राज्यले मात्रै होइन अन्तर्राष्ट्रिय समुदायले समेत त्यो क्षति पूर्ति गर्ने कामहरू गरिरहँदा एक जना व्यापारीले 'एमालेले बेहोरेको क्षति सन्दर्भबारे म गम्भीर छु, म सहयोग गर्न चाहन्छु' भन्ने कुरालाई मानवीयताका हिसाबले लिनुपर्ने उनले बताए।
'महाविपत्तिका बेलामा भएको क्षतिको सहयोग प्राप्त गर्ने हक हरेकको हुन्छ। एमालेको पनि छ भन्ने कुरा बुझ्नुपर्छ। एमालेले सहयोग प्राप्त गर्ने कुरा अवाञ्छित र अनुचित होइन। विपदका बेला, संकटको बेला सहयोग गर्ने कुरा राज्यको दायित्वको कुरा हो। राज्यकै कुनै एउटा नागरिकले म सहयोग गर्छु भन्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्छ,' उनले भने।
गत असोज २५ गते व्यवसायी गुरूङले दान दिएको भनिएको कीर्तिपुरस्थित मैत्रीनगरको १० रोपनी १४ आना जग्गामा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेपछि एमाले विवादमा छ।
महासचिव पोखरेलले भूकम्पबाट क्षति भएको भवनको पुनर्निर्माणमा सहयोग पाउने हकअन्तर्गत नै दान प्राप्त गरेकाले यसलाई अन्यथारूपमा नबुझ्न आग्रह गरेका हुन्।