नेकपा (एकीकृत समाजवादी) का नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा(एमाले) सँग एकीकरण गर्नुपर्ने बताएका छन्।
नेकपा(एकीकृत समाजवादी) ले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेता मिश्रले एमालेसँग पार्टीको एकीकरण गर्नुपर्ने बताएका हुन्।
शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले पार्टी फुटको कारणलाई हल गर्दै एकीकरण गर्नुपर्नेमा जोड दिए।
उनले तत्कालीन पार्टी(एमाले) फुट्दै गर्दा नयाँ पार्टीमा कुनै पनि त्रुटी, कमीकमजोरी र असन्तुष्टिहरू नहोस् भन्ने आफूहरूको अपेक्षा रहेको भए पनि त्यस्तो हुन नसकेको बताए।
उनले भने, ‘हामी जुन कारणले फुटेको हो त्यो कारणलाई हल गरेर यो पार्टी एकीकरण गर्नुपर्छ। त्यो गर्न सकिएन भने पनि जे–जे त्रुटी, कमजोरी भएर पार्टीले राम्रो गर्न सकेन, असन्तुष्टिहरू भए या राजनीतिक रूपले संकट आए, यस्तो काम कमसेकम यो विद्रोह गरेर आएको पार्टीले नगरोस्।’
उनले पार्टीको दशौं महाधिवेशनको म्याण्डेड विपरीत मनोनीत केन्द्रीय सदस्यहरूले पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरिएको भन्दै त्यसमा आफूहरूको असन्तुष्टि रहेको बताए। उनले पार्टी विधान र महाधिवेशनको म्याण्डेड विपरीत पदाधिकारी र पोलिटब्युरो चयन हुनु त्रुटीपूर्ण काम भएकोले सो कुरा सच्चिनुपर्ने बताए।
‘दशौँ महाधिवेशनले उत्साह दिन्छ भन्ने थियो दुर्भाग्यवश के भइदियो भने महाधिवेशनबाटै सबै संरचना तयार गर्नुपथ्र्यो, त्यही नै म्याण्डेड थियो। भोलि निर्वाचन आयोगले पनि प्रश्न उठाउँदै छ कि जे गर्ने हो त्यो त महाधिवेशनको हलले गर्ने हो,’ उनले भने, ‘हलबाट मनोनीत गर्ने सर्वसम्मतिले ३ जना, त्यसपछि ९३ जनालाई मनोनीत गरियो र ती मनोनीत गरिएकाले सबै पदाधिकारी उसले छान्ने यो चाहिँ विधानमा पनि नभएको कुरा पर्यो। यो व्यावहारिक पनि थिएन। ठूलो त्रुटि भएको हो।’
पार्टीभित्र दुई पक्ष हाबी भएको भन्दै उनले पार्टी संकटमा रहेको उल्लेख गरे। नेता मिश्रले पार्टीको औचित्य सकिएकाले नयाँ पार्टी बनाउनुपर्छ भन्ने एउटा पक्ष र सुधार गरेर यही पार्टी बनाउनुपर्छ भन्ने अर्को पक्ष पार्टीभित्र रहेको बताए।
उनले भने, ‘एउटा असन्तुष्टि केमा छ भने अब यो पार्टी न एकीकरण हुन्छ, न अगाडि बढ्छ यसको औचित्य छैन भन्नेतिर लागेर यो फुटाउनुपर्छ, अन्त जानुपर्छ अथवा निष्क्रिय हुनुपर्छ अब यो काम छैन भन्नेमा पुगेको छ। एउटा समूह यसैलाई करेक्सन गर्नुपर्छ, फेरि महाधिवेशन बोलाउने हो कि, यसलाई विघटन नै गर्ने हो कि? नयाँ ढंगले जानुपर्छ कि भन्नेमा छ। अर्को तेस्रो पक्ष जो संस्थापन धार छ, उसले के भन्दैछ भने जे भयो भयो यसलाई सकेसम्म सहिष्णुता, सुधार गर्दै नयाँ जिम्मेवारी बाँड्दै जानुपर्छ भनेर छिट्टै केन्द्रीय कमिटीको बैठक बोलाउने कुरा भइराखेको अवस्था छ। नेकपा(एकीकृत समाजवादी) पार्टी संकटमा छ।’
उनले हैसियतविहीन मानिसहरू पदाधिकारी र केन्द्रीय कमिटीमा आउँदा आवश्यक मानिसहरु भने छुटेका बताए।
पार्टीलाई सुधार गर्नका लागि छलफलहरू पनि भइरहेको उल्लेख गर्दै उनले निराश नेताहरूले अलग पार्टी बनाउन सक्ने स्पष्ट पारे।
उनले आफूहरूले सिंगो पार्टीको नै एकता गर्न चाहेको भए पनि पार्टीको शीर्ष नेताहरूका बीचमा कुरा नमिलेको बताए।
उनले भने, ‘कुनै वैचारिक मतभेद नहुँदा नहुँदै व्यक्तिको कारणले, व्यक्तिगत इगो, व्यक्तिगत विचार, व्यक्तिगत कुरा, मैले भनेपछि सिद्धान्त भन्ने हिसाबले कम्युनिस्ट पार्टीहरू सबभन्दा बढी फुटेका छन्। सुधारको लागि पनि कुरा भइरहेको छ। निराश साथीहरूले अलग पार्टी बनाउनेतिर नजालान् भन्नसक्ने अवस्था छैन। जान सक्छन्। टप लेभलमा कुरा मिलेको छैन पार्टी एकताका लागि। हामी पर्ख र हेरमा छौं। सकेसम्म सिंगो पार्टी नै एकीकरण गर्ने प्रयास गर्ने। यदि त्यो सम्भव भएन भने शीर्ष नेताहरू बाहेक हामी एमालेमा जाने सम्भावना नजिक छ।’
पार्टी एकीकरणको लागि राजनीतिक दल सम्बन्धीको अध्यादेश आए सजिलो हुने पनि नेता मिश्रले बताए।
एकीकृत समाजवादी बन्ने बेला ल्याइएको अध्यादेश आवश्यक देख्नेले अहिले राजनीतिक ध्रुवीकरणको लागि ल्याइने अध्यादेश पनि औचित्यपूर्ण हुने नेता मिश्रको तर्क छ।
राजनीतिक दल सम्बन्धीको अध्यादेशले अलमलमा परेका धेरै नेता कार्यकर्तालाई सहज बाटो र निर्णय लिन सजिलो हुने बताए।—न्युज एजेन्सी नेपाल