नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सत्ताघटक दुई दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सम्बन्धमा दरार आइसकेको बताएका छन्।
शनिबार रोल्पामा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसका नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेको र यसबाट दुई पार्टीको सम्बन्धमा दरार उत्पन्न भएको बताएका हुन्।
दुई तिहाईको सरकार हुँदा पनि केही काम गर्न नसकेको भन्ने अभिव्यक्ति कांग्रेसको शीर्षमध्येका नेता शेखर कोइरालाबाटै आएको र यसले यसले वर्तमान सरकार धेरै लामो समयसम्म नजाने देखिएको पुनले बताए।
यस्तै काँग्रेस नेताहरुले एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले करोडौं मूल्य पर्ने १० रोपनी १४ आना जग्गा दान दिएको विषयमा सार्वजनिक रुपमै प्रश्न उठाएको बताए।
‘प्रधानमन्त्रीले नैतिक रुपमा आफ्नो दलको कार्यालय बनाउन करोडौं मूल्यको जग्गा दान लिन मिल्ने कि नमिल्ने ? त्यसबारे उहाँ र एमालेले जवाफ दिनुपर्ने कि नपर्ने ?’, पुनले भने, ‘त्यसमा स्वार्थ छ कि छैन भनेर नेपाली काँग्रेसकै नेताहरुले प्रश्न उठाइरहनुभएको छ । सामान्य जनताले र प्रतिपक्षले प्रश्न उठाउनु सामान्य हो । सत्तारुढ दलभित्रैबाट प्रश्न उठाइनुले उहाँहरुबीचको सम्बन्ध सामान्य अवस्थामा छैन भन्ने देखाउँछ ।’
पुनले काँग्रेस र एमालेबीचको अप्राकृतिक र रहस्यमय गठबन्धन भएकाले पनि सरकार लामो समय नजाने ठोकुवा गरे।
‘काँग्रेस र एमालेबीचमा समस्या आइरहेको छ । यो गठबन्धन लामो समय चल्दैन भन्ने सुन्न थालिएको छ’, पुनले भने, ‘अन्तर्राष्ट्रिय रुपमा पनि सन्तुलन गर्न सकिरहनुभएको छैन । उत्तर र दक्षिणी छिमेकीलाई सन्तुलनामा राखेर मुलुकलाई विकास र समृद्धिमा लानुपर्नेमा दुई देशसँगै नेपालको सम्बन्धमा चिसोपना आएको जस्तो देखिन्छ । हाम्रो अनुरोध के छ भने उत्तर र दक्षिण दुई छिमेकीलाई सन्तुलनमा नराखी नेपालमा विकास, स्थिरता र समृद्धि सम्भव छैन ।’
पुनले देशको विकास, समृद्धि र स्वाधीनताको रक्षाका लागि कतैतिर नढल्कीइ जनतातिर ढल्कने विदेश नीति अख्तियार गरिनुपर्नेमा जोड दिए ।
‘आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राख्ने विदेश नीतिका आधारमा अघि बढ्दा मात्र नेपालको स्वाधीनता बचाउन र मुलुकको विकास गर्न सकिन्छ’, उनले भने ।
जनताले काँग्रेस र माओवादी केन्द्रले सरकार र निर्वाचनमा सहकार्य गरेको विषयलाई नरुचाएका कारण आफूहरुले पछिल्लोसमय एमालेसँग सत्ता सहकार्यको हात बढाएको पुनले उल्लेख गरे । तर, सरकार सञ्चालनमा कुनै असहमति नहुँदा नहुँदै नाटकीय रुपमा काँग्रेस–एमाले मिलेको टिप्पणी उनले गरे ।
प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम उठाइरहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित व्यक्ति पक्राउ परेपछि एकाएक गठबन्धन बदलिएको पनि उनले बताए ।
निर्वाचन प्रणाल, संघीयता र समावेशीताका कारण अस्थिरता आएको र त्यसका लागि संविधान संशोधन गर्ने बहाना बनाएर संसदका दुई ठूला दल मिलेको भए पनि पछिल्लो समय काँग्रेस र एमालेका शीर्ष नेताकै मुखबाट ती विषयमा परिवर्तन हुन नसक्ने अभिव्यक्ति आउनुले संविधान संशोधन उनीहरुको एजेण्डा नभएको स्पष्ट हुने पुनले बताए।
‘समावेशी र समानुपातिक निर्वाचन प्रणालीका कारण अस्थिरता भयो बदल्छौं भन्ने कुरा आयो । ठूलो दलका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक प्रणाली कुनै हालतमा फेरिँदैन भन्न थाल्नुभएको छ । सरकारका प्रवक्ताले समावेशी र समानुपातिक निर्वाचन प्रणालीबाट पछि हट्ने कुरै हुँदैन भन्नुहुन्छ’, पुनले भने, ‘यही कुराले पुष्टि गर्छ कि संविधान संशोधन बहाना मात्र थियो । सरकार बनेको तीन महिनासम्म संविधान संशोधनबारे कुनै बहस छैन, कुनै तयारी छैन ।’
उनले दुई तिहाइको सरकारबाट अहिलेसम्म आशा जगाउने एउटै पनि काम भएको सुन्न नपाइएको बताए।
सरकारले जनअपेक्षा अनुसार सुशासन, समृद्धि, सामाजिक न्याय र समग्र राष्ट्रिय एकताको भावका साथ काम गरे आफूहरु प्रतिपक्षमै बसेर निसर्त सहयोग गर्न तयार रहेको पुनको प्रतिबद्धता थियो। तर, जनताको भावनाविपरीत र स्वार्थ समूहको चाहनामा सरकार अघि बढे खबरदारी गर्ने उनको भनाइ थियो।