उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल सुरू गरेका छन्।
पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा आयोजना अन्तर्गतका सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशकहरू सँग आयोजनाबारे मन्त्री सिंहले समीक्षात्मक छलफल गरेका हुन्।
आयोजनाको अन्तिममा समीक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै उपप्रधामनमन्त्री सिंहले सुरूमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरी छलफल गर्नुपर्नेमा जोड दिए।
उनले कामलाई प्रभावकारी बनाउन नीतिगत विषयमै बढी जोड दिने पनि बताए।
‘तपाईंहरुसँगको छलफलपछि समस्या के छ भन्ने जानकारीमा आएको छ। यो छलफल परिणामका लागि हो। समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु,’ उनले भने।
छलफलमा स्थानीय पूर्वाधार विकास आयोजनाअन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखहरूले चालु आर्थिक वर्षमा भएका योजनाका उपलब्धीहरू, भोग्नुपरेका समस्या र भइरहेका कामबारे विस्तृतमा प्रस्तुतीकरण गरेका थिए।
त्यस्तै असोजमा आएको बाढीका कारण भएको क्षती र बाढी पछि भएका कामबारे पनि जानकारी गराएका थिए।
सहरी विकास मन्त्रालयअन्तर्गतका झोलुंगेपुल र सडकहरुमा बाढीका कारण क्षती पुगेको छ।
आयोजनाका विभिन्न प्रदेशका प्रमुखहरूले पूर्वतयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिनेक्रम रोक्नुपर्नेमा जोड दिएका थिए।
त्यस्तै एउटै आयोजनामा पनि डुप्लिकेसनको समस्या रहेको भन्दै त्यसलाई रोक्ने गरी पहल गर्नुपर्ने बताएका थिए।
मन्त्रालयका सचिव मणिराम गेलालले चालु आवको विनियोजित कार्यक्रम सम्पन्न गर्न देखापरेका समस्या, समाधानका उपाय र आयोजनाकातर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारेको छलफलले धेरै विषय प्रष्ट भएको भन्दै यसले आगामी दिनमा काम गर्दा थप सहज हुने बताए।