प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बस्यो।
बैठकमा प्रतिपक्षी दलहरू माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी थिए।
प्रतिपक्षी दल नेता प्रचण्डले बोलाएको बैठकमा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगे। केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा लोसपाबाट शरत सिंह भण्डारी श्रममन्त्री र नाउपाबाट अरूणकुमार चौधरी पर्यटन राज्यमन्त्री छन्।
सत्तारूढ दल लोसपा र नाउपा कसरी पुगे त प्रतिपक्षी दलहरूको बैठकमा? यी दल सत्तारूढ अन्य दलहरूप्रति असन्तुष्ट छन्?
हामीले यसबारेमा ती दलका सम्बन्धितहरूसँग सोधेका छौं।
सुरूमा लोसपा अध्यक्ष ठाकुरको कुरा गरौं। अध्यक्ष ठाकुरको सचिवालयले दिएको जानकारीअनुसार माओवादी अध्यक्ष प्रचण्डले फोन गरेर भेटौं भनेका थिए। सोही जानकारीअनुसार प्रचण्डलाई भेट्न ठाकुर आएका हुन्।
अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्रकुमार मिश्रले प्रतिपक्षी दलहरूको बैठकका लागि भनेर खबर नआएको बताए।
‘प्रचण्डजी आफैले अध्यक्ष ठाकुरलाई फोन गर्नुभएको हो, कुराकानी गर्नुछ भन्नुभएको थियो। त्यसैले हामी गएका थियौं,’ मिश्रले सेतोपाटीसँग भने, ‘हामी पुग्दा विपक्षी दलहरूका सबै नेता हुनुहुँदो रहेछ, अनि उहाँ पनि त्यही बसेर सबैका कुरा सुन्नुभयो त्यसपछि निस्कनुभयो।’
प्रतिपक्षी दलको बैठक भनेर आफूहरूलाई सूचना नदिइएको पनि मिश्रले बताएका छन्।
ठाकुर विपक्षी दल बैठकमा सहभागी भएको समाचार र फोटो सार्वजनिक भएपछि सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चासो राखे। सभापति देउवाको सचिवालयबाट लोसपा अध्यक्ष ठाकुरलाई फोन गरेर बुझ्ने काम पनि भएको थियो।
सभापति देउवाको सचिवालयबाट फोन आएको ठाकुरका स्वकीय सचिव मिश्र बताउँछन्। तर प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट भने फोन नआएको उनले बताए।
‘देउवाको सचिवालयबाट फोन आएको थियो, हामी प्रतिपक्षी दलको बैठकका रूपमा गएको हैन भनेर भनिसकेका छौं,’ उनले भने।
हामीले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसँग पनि कुराकानी गरेका छौं।
उनले पनि प्रतिपक्षी दलको बैठकका रुपमा आफूलाई खबर नगरिएको बताइन्। आफूलाई बैठकका लागि मात्र निम्तो गरिएको उनको भनाइ थियो।
'पूर्वप्रधानमन्त्री प्रचण्डले बैठक छ भनेर बोलाउनुभएको थियो, म पुगेको मात्र थिएँ, बैठक सकियो,' उनले सेतोपाटीसँग भनिन्। नाउपा सत्तामा छ।
सरकार छाडेर प्रतिपक्षमा जाने सोचाई बनाउनु भएको त हैन? भन्ने प्रश्नमा जबाफ दिएकी नाउपा अध्यक्ष श्रेष्ठले त्यस्तो निर्णयमा नपुगेको बताइन्।
'त्यस्तो होइन, प्रतिपक्षको बैठक छ भन्ने पनि थाहै भएन', रजिन्ताले भनिन्, 'बैठक छ भनेर बोलाउनु भएको थियो। म पुगेँ। पुग्दा बैठक सकिएको रहेछ।’
उनले माओवादीका अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलको बैठकका रूपमा खबर नगरेको बताइन्।
'बैठक थियो भनेर मात्र खबर गर्नुभयो, त्यसैले पुगेँ,' उनले भनिन्।
प्रतिनिधि सभामा लोसपा र नाउपाका चार-चार जना सांसद छन्।
यो पनि:
दुइटा काम गर्न प्रतिपक्षी दलहरूले बनाए कार्यदल
प्रतिपक्षी दलको बैठकमा माधव नेपालले भने- अध्यादेश आउन सक्छ, चनाखो बनौं
प्रतिपक्षी दलहरूको बैठकमा रवि लामिछाने पक्राउ पर्न सक्ने चर्चा