सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि बनेको सिफारिस समितिलाई पूर्णता दिने भएको छ।
बिहीबार बसेको शीर्ष तीन दलको बैठकले अघिल्लो सरकारले गत चैतमा बनाएको सिफारिस समितिलाई पूर्णता दिने निर्णय गरेको हो।
बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समितिलाई पूर्णता दिने र त्यही समितिले गरेको सिफारिसका आधारमा आयोग गठन हुने बताए।
‘सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न अघिल्लो सरकारका पालामा समिति गठन गरिएको थियो। पूर्णता दिइएको थिएन,’ बस्नेतले भने, ‘अहिले सर्च कमिटीलाई पूर्णता दिएर गठन प्रक्रिया अघि बढाउनेबारे सहमति भयो। समितिले एक/दुई दिनमा पूर्णता पाएपछि त्यसको निश्चित समयभित्र आयोग गठनको काम सुरू हुन्छ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश वडाल सहभागी थिए।
यसअघि गत चैतमा मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथन मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न समिति बनाउने निर्णय गरेको थियो। उक्त समितिमा पूर्वन्यायाधीश जगदिश शर्मा पौडेल, स्टेला तामाङ, डाक्टर अर्जुनकुमार कार्की र राष्ट्रिय मानवअधिकार आयोगका सदस्य वा आयोगले तोकेका व्यक्ति रहने निर्णय भएको थियो।
गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो।