नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को जारी सम्मेलनमा विवाद देखिएको छ।
उमेर हदको विरोध गर्दै निवर्तमान उपाध्यक्ष तुकमान महराले खुकुरीसहित प्रदर्शन गरेपछि सम्मेलनस्थलमा प्रतिनिधिहरूबीच धकेलाधकेल भएको हो। तुकमान लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्।
तुकमान पनि अखिल (क्रान्तिकारी) को अध्यक्ष पदका दाबेदार छन्।
सम्मेलन स्थलमा प्रतिनिधिहरूले कुर्सीसमेत फालाफाल गरेका छन्।
काठमाडौंको कीर्तिपुरमा अखिल (क्रान्तिकारी) को २३ औं सम्मेलन चलेको छ। उक्त सम्मेलनमा आज उमेर हदबारे मतदानबाट टुंगो लगाउने तयारी भइरहेको थियो।
२८, ३० वा ३२ कति वर्षे उमेर हद लगाउने भन्नेमा कुरा नमिलेपछि निर्वाचनबाट टुंगो लगाउने तयारी हुँदा विवाद सिर्जना भएको हो।
महराले उमेर हद लगाउन हुन्न भन्दै सम्मेलनस्थलमा खुकुरी देखाएका थिए। उमेर हदबारे टुंगो लगाउन निर्वाचन गर्नका लागि तयारी भइरहँदा सोमबार दिउँसो महरासहित २०/२५ जनाको समूहमा रहेकाहरूले अवरोध सिर्जना गरेका हुन्।
प्रहरी वृत्त कीर्तिपुरले अखिल (क्रान्तिकारी) को सम्मेलनस्थलमा खुकुरी देखाउने एक जनालाई नियन्त्रणमा लिएको सेतोपाटीलाई जानकारी दिएको छ।
माओवादी अध्यक्ष दाहालले अखिल (क्रान्तिकारी) का नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा महरा उपस्थित थिएनन्।