नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीले मतदानबाट अध्यक्षको उम्मेदवारको टुंगो लगाउने भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठनमा उमेरहद कायम गर्नुपर्ने भन्दै निर्वाचनबाट त्यसको टुंगो लगाउन निर्देशन दिएपछि क्रान्तिकारीले उमेरहदको तयारी गरेको हो।
सोमबार बिहान अनेरास्ववियु क्रान्तिकारीका पदाधिकारीले अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा छलफल गरेका थिए।
छलफलपछि आफूहरू उमेरहदबारे निर्वाचन गर्ने टुंगोमा पुगेको र आजै निर्वाचन हुने उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी दिए।
‘उमेरहद राख्ने कि नराख्ने, राख्ने भए कतिको राख्ने भन्ने छुट्टाछुट्टै विकल्प हुनेछन्,’ सापकोटाले सेतोपाटीसँग भने,‘उमेरहद राख्नुपर्छ भन्ने प्रतिनिधिले ३२,३० र २८ मध्ये एउटामा मतदान गर्नेछन्।’
उमेरहदबारे टुंगो लागिसकेपछि मात्रै उम्मेद्वारबारे छिनोफानो हुनेछ। यदि उमेरहद लागू हुने भयो भने अहिले अध्यक्षका आकांक्षी रहेका १९ जना उपाध्यक्ष र एकजना महासचिव कोही पनि उम्मेदवार हुन पाउनेछैनन।