राष्ट्रिय प्रजातन्त्र पार्टीले बाढीपहिरोपीडितलाई उद्धार गर्न र राहत उपलब्ध गराउन माग गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण ज्यान गुमाएकाहरूको परिवारलाई उचित राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
संकटमा परेका नागरिकको उद्धार, पुन:स्थापना र घाइतेको नि:शुल्क उपचार गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको हो।
क्षतिको विवरण संकलन गरी पीडित नागरिकलाई राहत र क्षतिपूर्ति प्रदान गर्न तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा तीन तहकै सरकारको प्रभावकारी अग्रसरता हुनुपर्ने पनि राप्रपाको भनाइ छ।
विपदमा राप्रपा सरकार र आम जनसमुदायको साथमा रहेको पनि उनले बताएका छन्।
उनले आम नागरिकको साथमा उभिन, राहत, उद्धार र पुन:स्थापनामा जुट्न देशभरका राप्रपा कार्यकर्तालाई पनि अपिल गरेका छन्।
अविरल वर्षापछिको बाढीपहिरोले १२१ जनाको मृत्यु र ६२ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ।