नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टी बनाउन युवाहरू नेतृत्वमा आउन जरूरी रहेको बताएका छन्।
नेपाली कांग्रेस दाङले बिहीबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री कोइरालाले कांग्रेसलाई संगठित, सशक्त र चलायमान बनाउन युवापुस्तालाई नेतृत्वमा ल्याउन जरूरी रहेको बताएका हुन्।
४० वर्ष मुनिका एउटा पनि युवा पार्टीको केन्द्रीय सदस्य नरहेको भन्दै उनले पार्टीमा युवा आकर्षण बढाउन आवश्यक रहेको जोड दिए। यो कांग्रेसको भविष्यको लागि राम्रो संकेत नरहेको उनले बताए।
पार्टीको विधान संशोधन गरेर भए पनि युवालाई स्थान दिनुपर्ने उनको तर्क थियो।
‘भाषणमा मात्रै युवाका कुरा गरेर हुँदैन, व्यवहारमा पनि युवाको प्रतिनिधित्व पार्टीमा हुनुपर्छ,’ उनले भने, ‘पार्टीले नेतृत्व तहमा मात्र होइन सरकारमा पनि युवा प्रतिनिधित्व बढाउनका लागि ध्यान ध्यान दिन जरूरी छ।’
पार्टीका भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ, तरूण दल लगायतलाई क्रियाशील बनाउँदै समयमै निर्वाचन हुने वातावरण बनाउन आवश्यक रहेको उनले बताए। युवा उत्पादन हुने संगठनहरू नै निष्क्रिय जस्तो बन्दा कांग्रेस थप कमजोर बन्न सक्ने चिन्ता उनले जाहेर गरेका थिए।
‘अहिले पार्टीका प्रमुख भ्रातृ संगठनहरूमै वर्षौंदेखि महाधिवेशन नहुँदा ती संगठन सक्रिय रूपमा क्रियाशील छैनन्,’ नेता कोइरालाले भनेका थिए, ‘युवाहरू नेतृत्वमा आउनका लागि ठाउँ समेत नभएकाले भ्रातृ संघसंगठनहरूको समयमै निर्वाचन गराउन पार्टी नेतृत्वले ध्यान दिन अति आवश्यक छ।’