नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टी एकता हुने बताएका छन्।
बिहीबार पार्टीसम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं सम्मेलन उद्घाटन गर्दै उनले समाजवादी मोर्चा घटक विद्यार्थी संगठनका प्रतिनिधिले पार्टी एकतामा जोड दिएको भन्दै उनले सो कुरा बताएका हुन्।
‘यहाँ केही समाजवादी मोर्चासँग सम्बन्धित विद्यार्थी प्रतिनिधिहरूले भन्नुभयो– एकताको पहल बढाउनुस् भनेर। मलाई अपिल गर्नुभयो। हामी समाजवादी मोर्चालाई बलियो बनाउने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्ने अभियानमा छौं। मलाई विश्वास छ– केही समयभित्रै नयाँ समाचार सुन्नुहुनेछ। एकताको र मोर्चाको। हामी लागिराखेका छौं। तपाईंहरूको सम्मेलनले त्योसम्बन्धी नीति, योजना र कार्यक्रम पारित गर्नेछ भन्ने मलाई विश्वास छ,’ उनले भने।
अहिले प्रतिनिधि सभामा भएका पहिलो र दोस्रो दल मिलेर लामो समयको बलिदान संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउने दुस्साहस गरिरहेको उनले आरोप लगाए।
‘त्यसकारण हामीले प्रतिनिधि सभामा खबरदारी गरेका छौं। प्रतिनिधि सभाको खबरदारी एउटा पक्ष हो। अन्ततः सडकबाट गरिने संघर्षले मात्रै प्रतिक्रियावादीलाई झुकाउन सकिन्छ। उनीहरूका षड्यन्त्रलाई परास्त गर्न सकिन्छ। अघि तपाईंहरूलाई सडकको बाघको भन्नुभयो। म तपाईंहरूलाई सडकको बाघको रूपमा सलाम गर्न चाहन्छु। तपाईंहरूले सडकको बाघ नै भएर निक्लनुपर्नेछ,’ उनले भने।
यो पनि:
अन्तर्राष्ट्रिय क्षेत्रमा म प्रधानमन्त्रीभन्दा माथि हो भन्ने बनेको छः प्रचण्ड