मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन आयोगले कार्यक्रम स्वीकृत गरेको छ।
बिहीबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए।
मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।
सोही दिन बेलुकी ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ।
मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ।
त्यसैगरी सोही दिन दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गर्ने आयोगको कार्यक्रम छ।
मंसिर ४ गते ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने सहसचिव सापकोटाले जानकारी दिए।
त्यसैगरी मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने दिउँसो १ बजेदेखि ३ बजेसम्ममा अन्तिम नामावली प्रकाशन हुनेछ। ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
त्यसैगरी मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुनेछ र मतदान सुरू हुनुभन्दा ४८ घण्टा अगाडि मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागु हुने आयोगले जनाएको छ।