वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हासिल गर्ने गरी नेपाल प्रस्तुत हुने बताएका छन्।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आइतबार कोप २९ बारे जानकारी दिँदै उनले व्यवस्थित एजेण्डासहित नेपाललाई कसरी बढी कोपबाट उपलब्धि हासिल गराउन सकिन्छ भन्ने हिसाबले अघि बढ्ने बताए।
उनले थप अझै गोष्ठी, विचारहरू र आवश्यक सेमिनर गरी सुझाव संकलन गरेर अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्ने कुरामा मन्त्रालयको ध्यान केन्द्रित रहेको बताए।
प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने र त्यसमा पनि कर्णाली प्रदेशको प्रतिनिधित्व अनिवार्य गराउने कुरा सकारात्मक रहेको भन्दै मन्त्रालयले गम्भीरताका साथ लिने उनले बताए।
‘अबको कोपलाई नेपालका एजेण्डाहरू र नेपाललाई कसरी बढी हामीले त्यो कोपबाट उपलब्धि हाँसिल गर्न सक्छौँ, त्यसमा हामी अझै थप छलफल गर्ने पक्षमा छौँ। थप अझै गोष्ठी, विचार र आवश्यक सेमिनर गरी, सुझाव संकलन गरी अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा हाम्रो एकदमै ध्यान केन्द्रित गर्नेछौँ,’ उनले भने, ‘प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्छ भन्नेकुरा उठाउनुभएको छ, यो अत्यन्तै महत्वपूर्ण छ। कर्णालीलाई पनि प्रतिनिधित्वबाट छुटाउनु हुँदैन भन्नेकुरा आएको छ। यो स्वागतयोग्य छ। कर्मचारीको संख्या धेरै भयो भन्नेकुरा आएको छ, त्यो पनि हामी सल्लाह गर्नेछौँ। यहाँहरुले दिएका सुझावलाई गहनताका साथ लिएका छौँ। कोप २९ लाई विगतका कोपभन्दा अत्यन्तै व्यवस्थित र नेपाललाई थप उपलब्धि हुने किसिमले मन्त्रालयले काम गर्नेछ। समितिले दिएका सुझाव पूर्ण रुपमा कार्यान्वनय गर्नेकुरा राख्न चाहन्छु।’
उनले समितिले दिएका सुझाव पूर्ण रुपमा कार्यान्वनय गर्ने पनि बताए।
(न्युज एजेन्सी नेपाल)