राष्ट्रिय जनमोर्चाले गैरकानुनी रूपमा सहकारीबाट आएको बचत रवि लामिछानेले तजबिजमा खर्च गरेको बताएको छ।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रतिनिधि सभामा पेस गरेको प्रतिवेदनले सहकारीका पैसा लामिछानेले तजबिजमा खर्च गरेको देखिएको पनि राष्ट्रिय जनमोर्चाले उल्लेख गरेको छ।
असोज ४ र ५ गते राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषदको दोस्रो बैठक बसेको थियो।
उक्त बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकाल्दै बैठकमा हालै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसदमा प्रस्तुत गरेको तथा सरकारलाई बुझाएको प्रतिवेदन उपर छलफल भएको उल्लेख गरेका छन्।
‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति वास्तवमा सरकारद्वारा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई जोगाउने उद्देश्यद्वारा नै गठन गरिएको थियो। तर समितिले तत्कालीन गृहमन्त्री जोडिएको सहकारी रकम ठगी अपचनल प्रकरणमा अगाडि सारेका तथ्यप्रमाणबाट रवि लामिछाने उपर सहकारीको रकम ठगी र अपचलनका विषयमा लाग्दै आएको आरोप पुष्टि भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
गैर कानुनी रुपमा ६ वटा सहकारीबाट गोर्खा मिडिया प्रालिमा आएको रकम रवि लामिछानेकै तजबिजमा खर्च हुने गरेको कुराबाट उनी दोषी भएको कुरा पुष्टि हुने राष्ट्रिय जनमोर्चाको भनाइ छ।
‘गैर कानुनी स्रोतबाट आर्जित रकमलाई आफ्नो तजविजमा खर्च गर्ने तर सो रकम मैले ल्याएको होइन, कहाँबाट आयो? कसरी आयो? भनेर जबाफ दिएर पन्छिन खोज्नु हददर्जाको दिवालीयापन हो,’ राष्ट्रिय जनमोर्चाले भनेको छ।
साथै संसदीय समितिको प्रतिवेदनलाई सरकारले दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने पनि पार्टीको माग छ।
‘सहकारीमा रहेको बचतकर्ताको बचत रकममाथि ठगी र अपचलन गर्ने रवि लगायतका दोषीहरू उपर कडा कानुनी कारबाही हुनुपर्दछ। ठगिएका बचतकर्ताहरूको पैसा सहकारीको रकम ठगी वा अपचलन गर्ने दोषी र निजका परिवारहरूको जायजेथाबाट असुलउपर गर्नु पर्दछ,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यो पनि: संघीयताविरूद्ध आन्दोलन गर्ने राष्ट्रिय जनमोर्चाको निर्णय