माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त सबै संवैधानिक पदमा सिफारिस गर्न आग्रह गरेका छन्।
बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो।
उक्त छलफलमा भोलि (शुक्रबार) बस्ने संवैधानिक परिषद् बैठकको तयारी स्वरूप भएको प्रचण्डलको सचिवालयले बतायो।
बैठकमा अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा सम्भव भएसम्म भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा राखेको सचिवालयले जानकारी दिएको हो।
संविधानिक परिषद् बैठक बुधबार बोलाइएको थियो।
हिजो बस्न लागेको बैठकमा प्रधानन्यायाधीश सिफारिसको एउटामात्रै एजेण्डा उल्लेख थियो।
हिजो बैठक स्थगित गरेर शुक्रबारलाई तय गरिएको हो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउँदैछन्। नयाँ प्रधानन्यायाधीशको संसदीय सुनुवाइ पनि गर्नुपर्ने प्रावधान छ।
यसअघि नै न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदलाई पठाइसकेको छ।
न्यायपरिषदले न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको छ।
संवैधानिक परिषदले अरू तीन वटा पदमा सिफारिस गर्नुपर्नेछ। निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगमा एक–एक वटा पद रिक्त छ। तर आजको बैठकमा तीन वटै आयोगको एजेण्डा समावेश गरिएको छैन।