कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये मोरङको ग्रामथानमा यतिबेला प्रदेशभरिका राजनीतिक शक्तिहरूले सारा शक्ति खर्चिएका छन्। मंसिर १६ को उपनिर्वाचनमा ग्रामथानमा अध्यक्ष पदको निर्वाचन हुँदैछ।
प्रमुख पदका लागि प्रदेशभरिमै एक ठाउँ मात्रै हुन लागेको उपनिर्वाचनमा जित हासिल भए त्यसले आफ्नो दलको लोकप्रियता बढेको वा कायमै रहेको सन्देश दिन सकिने लोभ सबै दलमा देखिन्छ। त्यसैले ग्रामथानका ठूला–साना सबै दल र स्वतन्त्र उम्मेदवारहरूले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन्।
त्यसो त कोशीका ६ जिल्लाका ७ वटा वडाध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदैछ। कोशी प्रदेशमा ग्रामथानमा अध्यक्ष पदमा उपनिर्वाचन हुँदै गर्दा झापाको कन्काई नगरपालिका वडा नम्बर नम्बर ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नम्बर नम्बर ८, सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६, ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्षको चुनाव हुँदैछ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२, उदयपुरकै वेलका नगरपालिका वडा नम्बर ९ र ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ३ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।
वडाध्यक्ष जिताउने विषयमा पनि लागिपरेका दलबाट वडाहरुमा जिल्ला तहका नेता खटिएका छन्। तर ग्रामथानको अध्यक्ष जिताउन भने जिल्ला र प्रदेश र केन्द्रदेखिकै नेताहरू लागिपरेका छन्।
प्रदेशभरिकै ध्यान तानिरहेको ग्रामथानमा यतिबेला सबैजसो उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्। यसक्रममा उनीहरू सबैले आफूले जित्ने दाबी अघि सारिरहेका छन्।
चुनावी आउन ५ दिन बाँकी हुँदा घरदैलो गरिरहेका ग्रामथानका प्रमुख तीन दलका अध्यक्षका उम्मेदवाहरूलाई हामीले भेटेका छौं।
२०७९ मा ग्रामथानको अध्यक्षमा निर्वाचित भएका नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गएको असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको यहाँ त्यो निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो भएको थियो। हामीले सबैभन्दा पछिल्लो निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो मत ल्याएका दलका उम्मेदवारहरूलाई भेटेर उनीहरूका प्राथमिकता र अवस्थाबारे प्रश्न गरेका छौं।
त्यसो त ग्रामथानमा यसपटक एक जना स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी दौडमा सहभागी छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको उम्मेदवारको वर्णानुक्रम नामावली अनुसार नेकपा (एमाले) बाट तुलसीराम विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवीनकुमार विश्वास खवास उम्मेदवार छन्।
त्यसै गरी नमनारायण चौधरी थारू–स्वतन्त्र, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट प्रशुराम विश्वास थारू, कांग्रेसबाट बलराम सरदार थारू, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी थारू, राप्रपा नेपालबाट राजु मुसहर, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारू, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी र जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशी अध्यक्ष पदका उम्मेदवार छन्।
यस्तो छ २०७९ को परिणाम
२०७९ को स्थानीय तह निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता रहेको ग्रामथानमा अहिले २६ हजार ४४ जना मतदाता छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतदाता नामावलीअनुसार २०७९ को तुलनामा यो उपनिर्वाचनसम्ममा १०२ जना नयाँ मतदाता थपिएका छन्।
नयाँ मतदाता संख्याअनुसार १३ हजार ३ जना पुरूष र १३ हजार ४१ जना महिला मतदाता छन्। ग्रामथानका १२ मतदान स्थलमा २९ मतदान केन्द्र तोकिएको छ।
२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट विजेता बनेका जयप्रकाश गच्छदारले ७ हजार ६०५ मत पाएका थिए भने एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए। त्यसबेला तेस्रो बनेको माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पञ्चनारायण चौधरी थारुले ९४ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए।
पछिल्लो स्थानीय निर्वाचनको गणितअनुसार क्रमशः पहिलो, दोस्रो र तेस्रो मत ल्याएका मुख्य दलका हालका तीन जना उम्मेदवारहरूसँग सेतोपाटीले गरेको कुराकानीको सम्पादित अंश;
‘हामी सफलता दोहोर्याउनेछौं’
बलराम सरदार, अध्यक्षका उम्मेदवार, नेपाली कांग्रेस
घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ, कस्तो पाउनुभएको छ चुनावी माहोल?
हामीले चुनावी माहोल एकदमै राम्रो पाएका छौं। अहिलेसम्मको घरदैलो अभियानले हामीले यसअघिको चुनावमा पाएको सफलता दोहोरिने निश्चितजस्तै देखिएको छ।
जितको दाबी गर्ने तपाईंका मुख्य आधार के–के हुन्?
२०७९ को स्थानीय निर्वाचन पनि हामीले यहाँ जितेका हौं। पार्टी पनि यहाँ सधैं बलियो अवस्थामा रहेको छ। यहीँ जन्मे हुर्केको र लामो राजनीति गरेको मेरा आफ्नो मान्छे धेरै छन् यहाँ। हामीले अघि सारेका एजेन्डाहरू र विगतमा कांग्रेसले यहाँ गरेको काम नै मैले चुनाव जित्ने मुख्य आधारहरू हुन्।
तपाईंका चुनावी एजेन्डा के–के हुन्?
जयप्रकाशजी (दिवंगत अध्यक्ष) को अधुरो योजना पूरा गर्ने मेरो मुख्य एजेन्डा हो। त्यसबाहेक यहाँको स्वास्थ्य सेवा सुधार गर्ने मेरो प्रमुख प्राथमिकता हुनेछ। हाम्रो पालिकामा रहेको १५ शय्याको अस्पताल अहिले ठप्प अवस्थामा छ। यहाँका कोही मान्छे बिरामी हुँदा विराटनगर– काठमाडौंतिर धाउनुपर्ने अवस्था छ।
१५ शय्याको अस्पताल सञ्चालन मेरो प्राथमिकता हुनेछ। त्यसबाहेक अहिले उच्च रक्तचाप र मधुमेहका पीडितहरू बढिरहेका छन्। उनीहरूको स्वास्थ्य जाँच गर्ने, निःशुल्क औषधि उपलब्ध गराउने मेरो लक्ष्य छ।
यसबाहेक कृषि क्षेत्रमा सुलभ रूपमा सिँचाइ मलबीउको व्यवस्था गर्ने, सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क स्टेशनरी उपलब्ध गराउने, शिक्षाको गुणस्तर बढाउने, ज्येष्ठ नागरिकलाई घरघरै सामाजिक सुरक्षा भत्ता पुर्याउने, महिला र युवाका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ। ग्रामथान यहाँ थानैथानले बनेको गाउँ हो। त्यसको संरक्षण पनि गर्नेछु।
जम्मा अढाई वर्षको अवधिमा यतिका काम गर्न सकिन्छ त?
यी काम गर्नलाई म सक्दो कोसिस गर्नेछु।
घरदैलो अभियान चलिरहँदा ग्रामथानमा तपाईंको मुख्य प्रतिष्पर्धा कोसँग होला जस्तो देख्नुभएको छ?
चुनावमा प्रतिष्पर्धी त जनताले छान्ने हो। तर पनि विगतको गणित र पार्टीको अवस्था हेर्दा एमाले नै प्रतिष्पर्धी हुने ठानेको छु।
पछिल्लो समय पुराना दलहरूप्रति असन्तोष बढेछ भन्ने सुनिन्छ। यहाँ नयाँ दल या उम्मेदवारको सम्भावना पनि त हुन सक्छ?
मैले भनेँ नि, चुनावमा यो सबै निर्धारण गर्ने काम जनताको हो। यसबारे म अहिले केही भन्न सक्दिनँ।
‘भत्ता दिने पार्टी भन्ने छाप मतदातामा छ’
तुलसीराम विश्वास, अध्यक्षका उम्मेदवार, नेकपा (एमाले)
घरदैलो अभियान चलिरहँदा कस्तो पाउनुभयो ग्रामथानको माहोल?
घरदैलो गरिरहँदा माहोल एकदमै राम्रो पाएका छौं। मैले सम्भव भएसम्म यहाँका हरेक मतदातासँग कुराकानी गर्ने प्रयास गरेको छु। उनीहरूले सुनाउने समस्याहरू टिपोट गरेको छु। घरदैलो अभियानले मलाई आत्मविश्वास बढाएको छ। मैले मलाई जिताउनुस् भनेको छु। मेरो पक्षमा फिडब्याक राम्रो पाएको छु।
२०७९ को निर्वाचनमा यहाँ १६ सयभन्दा बढी अन्तरले कांग्रेसले एमालेलाई पराजित गरेको थियो। अहिले आफ्नो पक्षमा राम्रो माहोल देख्ने आधार के–के पाउनुभयो?
सबैभन्दा पहिलो त जनताले देखाएको रेस्पोन्स नै हो। रेस्पोन्स हेर्दा त लाग्छ, मलाई अहिले नै विजेता घोषित गरिदिए हुन्छ। म युवा उम्मेदवार हुँ। एमालेप्रति अहिले पनि जनताको आशा छ। भत्ता दिने पार्टी भन्ने छाप सबैमा छ। यी सबै कारणले मेरो जीत हुन्छ भन्नेमा विश्वस्त भएको छु।
तपाईंका चुनावी एजेन्डा के हुन्?
म गाउँघरमा वितरण हुने सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित र सहज बनाउनेछु। हाम्रोमा सबैभन्दा ठूलो समस्या शिक्षामा छ। सामुदायिकस्कुलमा गुणस्तर खस्केको छ। गाउँका सबैले छोराछोरी निजी स्कुल नै पढाउन खोज्छन्। यसको मुख्य कारण अंग्रेजी पढाइ हुने कारणले हो। मेरो मुख्य एजेन्डा नै सामुदायिक विद्यालयको अवस्था सुधार्छु भन्ने छ। अंग्रेजी माध्यमबाट गरिब निमुखा बालबालिकालाई पढाउने प्रयास हुनेछ।
अर्को किसानलाई राहत दिनु मेरो अर्को मुख्य काम हुनेछ। म आफै पनि किसानको छोरा हुँ, आफै पनि किसान हुँ। मैले किसानको समस्या बुझेको छु। यहाँ सिँचाइको समस्या छ। डिप बोरिङ गर्ने, किसानले चलाएको विद्युत शुल्क पालिकाले तिर्ने, उनीहरूलाई शुल्क मिनाहा गरिदिने लक्ष्य छ। युवाहरूका लागि स्वरोजगारमुलक र उद्यमशीलतामा आधारित कार्यक्रमहरू सञ्चालन गरिनेछ।
म आफै पनि विदेश बसेर आएको र त्यहाँ नेपालीले भोगेको दुःख सहेर आएको मान्छे हो। गाउँमै स्वरोजगार बनाउन कसरी सकिन्छ भन्नेमा हाम्रो ध्यान जानेछ। गाउँका सबै सडकहरु राम्रो बनाउन पनि हामीले काम गर्नेछौं। स्वास्थ्य सेवालाई गाउँमै भरपर्दो बनाउने योजना पनि हामीसँग छ।
उपनिर्वाचन भए पनि तपाईंले ‘फुलटर्म’ जस्ता योजना अगाडि सार्नुभएको देखियो। पूरा होलान् त, अढाइ वर्षमा?
जनताको मतबाट निर्वाचित भएपछि दिनरात नभनी उनीहरूकै लागि काम गर्ने हो। अढाइ वर्षमा पूरा भएन भने आधार बन्छ। अर्कोपटक आउनेले काम गर्छ। कसैले थाल्नु त पर्यो नि!
चुनावमा हरेक उम्मेदवारले जित्ने दाबी गर्नुहुन्छ। तपाईं पनि त्यसै भनिरहनु भएको छ। तपाईंले जित नै हासिल गर्नुभयो भने मुख्य प्रतिष्पर्धा कोसँग हुने अनुमान छ?
राजनीतिक दल र स्वतन्त्र गरी यहाँ १६ जना उम्मेदवार छौं। यी १६ जनामा मेरो प्रतिष्पर्धामा कोही छ जस्तो लागेको छैन। तै पनि, मेरो पछिपछि प्रतिष्पर्धामा कांग्रेस नै छ जस्तो देखेको छु।
पुराना दलहरूले काम गरेनन्, अब नयाँ दल वा उम्मेदवारलाई हेर्नुपर्छ भन्ने माहोल यहाँ कस्तो पाउनुभएको छ? नयाँबाट केही ‘थ्रेट’ महसुस गर्नुभएको छ?
केही थ्रेट छैन। नयाँ भनिने साथीहरूसँग कुनै एजेन्डा छैन। चुनाव आउँदा मात्रै तात्तिने, अरुबेला मौन बसेको भरमा राजनीति हुन्छ? चुनावका बेला स्वतन्त्र वा अर्को के भनेर हुँदैन। उहाँहरू जनताका लागि लागिपरेको खोई? चुनावमा तँछाडमछाड मात्रै गरेर हुँदैन। नयाँ साथीहरूलाई मेरो सुझाव छ, चुनावमा जे होस् सधैं जनताको पक्षमा लागिरहनुस्। बल्ल उनीहरूले भरोसा गर्ने दिन बिस्तारै आउँछ। अहिले यहाँ त्यस्तो अवस्था आइसकेको छैन।
‘माओवादी क्रेजकै कारण म जित्छु’
नमोनारायण माझी अध्यक्षका उम्मेदवार, नेकपा (माओवादी) केन्द्र
तपाईं त दुई महिनादेखि घरदैलो अभियानमा हुनुहुन्छ। कस्तो छ यहाँको चुनावी माहोल?
माहोल एकदमै राम्रो पाएको छु। गाउँमा ठूलो बेथिति र भ्रष्टाचार छ। सुशासन छैन। कर्मचारीतन्त्र हाबी भएको छ। यसको अन्त्य गर्न र गाउँपालिका ‘ट्रयाक’ बाहिर गएको छ। त्यसलाई ठीक पार्न नमोनारायणलाई जिताउनुपर्छ भन्ने माहोल छ।
तपाईंलाई जिताउनुपर्छ भन्ने ठहरमा ग्रामथानवासी कसरी पुगे, केही आधारहरू होलान् नि!
कांग्रेस र एमालेले गाउँमा लामो समयदेखि गरेको भ्रष्टाचार, कांग्रेस-एमालेसँग कुनै एजेन्डा नै छैन। यही बेथिति देखेर जनता दिक्क छन्। यही आधारले उनीहरूले मलाई खोजेका हुन्।
त्यसबाहेक मोरङ ४ का संघीय सांसद अमनलाल (मोदी) को क्रेज, हाम्रो पार्टी अध्यक्ष प्रचण्डको क्रेज, माओवादीप्रति देशैभर देखिएको क्रेज, जनतामा छाएको निराशा, यी सबै ‘फ्याक्टर’हरू मिलेको छ। नमोनारायण र माओवादीबाहेक अरुले राम्रो गर्न सक्दैन भन्ने यहाँका जनताको बुझाई छ।
तपाईंले त सबैभन्दा पहिले उम्मेदवारी घोषणा गर्नुभयो। जनतामाझ के-के एजेन्डा लगिराख्नुभएको छ?
गाउँपालिकामा व्याप्त भ्रष्टाचारको अन्त्य मेरो मुख्य एजेन्डा हो। सुशासन कायम गर्ने, विकास निर्माणलाई गति दिने, बजेट कार्यान्वयन गर्ने, स्कुलहरूको अवस्था सुधार्ने, स्वास्थ्य सेवा सुधार्ने, किसानलाई सेवा दिने मेरो मुख्य लक्ष्य र एजेन्डा हो। हाम्रो समाजको रुपान्तरण राम्रोसँग भइरहेको छैन, यस्तोमा माओवादीले जितेन भने भोलि झन् यहाँ के होला भन्ने त्रास जनतामा छ।
विकासको आशा कहिल्यै पूरा हुँदैन, कहीँ पनि हुँदैन। तर मैले भोट दिएर जिताएको मान्छेले आफूसँग भावनात्मक सम्बन्ध देखाओस् भन्ने अपेक्षा जनताको हुन्छ। म त्यो अपेक्षा पूरा गर्न लाग्नेछु।
तपाईंको क्षेत्रका सांसद अमनलाल मोदीले २०७४ मा एमालेसँग, २०७९ मा कांग्रेससहितका धेरै दलसँग गठबन्धन गरेर जित्नुभएको हो। स्थानीय चुनावमा पनि माओवादी ठूलो अन्तरले तेस्रो भएको देखिन्छ। यस्तो अवस्थामा पनि आत्मविश्वास देखाइरहनु भएको छ?
हो, म आत्मविश्वासी छु। किनभने कसैले पनि विरासतको आशा नगरे हुन्छ। हिजो धरानमा, काठमाडौंमा के भयो? जनतालाई आफ्नै पकेटको जस्तो सोच्नु गलत हो। यही गाउँ (ग्रामथान ५ को खदरा टोल) गाउँपालिका उपाध्यक्षको टोल हो। उहाँ एमालेबाट निर्वाचित हुनुहुन्छ। उहाँसँग गाउँले कोही सन्तुष्ट देखिएन। यस्तो अवस्था पालिकाभरि छ। त्यसैले पनि म आत्मविश्वासपूर्वक यसो भनिरहेको छु। फेरि कांग्रेस र एमाले एजेन्डाविहीन भएर मेरो आलोचनामा मात्रै केन्द्रीत छन्। यसले पनि देखाउँछ, यहाँ मेरो पक्षमा जनलहर आएको छ।
तपाईंको मुख्य प्रतिष्पर्धी को हो?
कांग्रेस–एमाले नै मेरो मुख्य प्रतिष्पर्धी हुन्। उनीहरू त एमाले र कांग्रेसबीच द्विपक्षीय प्रतिष्पर्धा हुने बताइरहेका छन्। तर, यहाँ प्रतिष्पर्धा त्रिपक्षीय हुँदैछ। त्यसमा पनि म धेरै अगाडि छु।