कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन्। प्रदेश सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनले अनसन टुंग्याएका हुन्।
मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेस नेताहरूसँग छलफल गर्दै कार्कीका माग पूरा गर्ने वचन दिएका छन्।
मंगलबार साँझ मुख्यमन्त्रीले छलफलका लागि बोलाएपछि कार्कीको तर्फबाट विराटनगर महानगरका मेयर नागेश कोइराला सहितका नेताहरू गएका थिए। छलफलमा मुख्यमन्त्रीले माग पूरा गर्ने वचन दिएका थिए।
आन्तरिक मामिला मन्त्री लिलावल्लभ अधिकारीले सरकारका तर्फबाट र केदार कार्कीले सहमतिमा हस्ताक्षर गरेका छन्।
आफू मुख्यमन्त्री हुँदा ल्याएको १० वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचार योजना हालका मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की मंगलबार प्रदेशसभा भवन नजिकै अनसन बसेका थिए।
प्रदेशसभा भवन आसपास निषेधित क्षेत्र तोकिएका कारण प्रहरीले उनलाई त्यहाँ नबस्न भनेको थियो। त्यसका बाबजुद पनि कार्कीले अनसन जारी राखेपछि प्रहरीले उनलाई त्यहाँबाट हटाउने प्रयास गर्दा कार्यकर्ताहरूले रोक्ने प्रयत्न गरेका थिए।
त्यसक्रममा प्रहरीले लाठीचार्ज नै गरेको कार्कीका कार्यकर्ताहरूले बताएका थिए। मंगलबार निषेधित क्षेत्रमा अनसन बसेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घरमा पुर्याइदिएको थियो। कार्की राति नै फर्किएर पुनः अनसनमा बसेका थिए।
मंगलबार उनले विराटनगर -६ निवासी निर्मला शर्माका ४२ दिनका शिशुको हातबाट जुस खाएर अनसन तोडेका हुन्।
सरकारको सन्देश दिन आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लभ अधिकारी अनसनस्थलमा आएका थिए।
मन्त्री अधिकारीले भने, 'कार्कीले उठाएका माग पूरा गर्न सरकार सकारात्मक छ।'
पूर्व मुख्यमन्त्री कार्कीले पनि सरकार आफ्ना माग पूरा गर्न सहमति भएकाले आफूले अनसन तोडेको बताए।
प्रदेश सरकार र कार्की पक्षका प्रतिनिधिबीच मंगलबार साँझ विराटनगरमा वार्ता भई माग पूरा गर्ने विषयमा सहमति जुटेको थियो। वार्तामा सहभागी नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईंले कार्कीले उठाएका माग सम्बोधन गर्न कोसी प्रदेश सरकार सहमत भएको जानकारी दिए।
वार्ताको नेतृत्व मुख्यमन्त्री हिक्मत कार्कीले गरेको र उठेका माग सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए।