राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन्।
बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले आफू गृहमन्त्री हुँदा देउवा स्वयंले भेटेर आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलाएका हुन्।
'तपाईंहरूले कहिले प्रधानमन्त्री त कहिले शेरबहादुर देउवालाई भेट्न गयो भनेर गलत म्यासेज लेखिदिनुहुन्छ तर मैले शेरबहादुर देउवाजीलाई भेटेकै छैन,' लामिछानेले भने, 'शेरबहादुरजीलाई मैले गएर भेटेकै छैन। तर कुनैबेला उहाँले नै प्रधानमन्त्री प्रस्ताव लिएर आउँदा भेट भएको थियो। उहाँले नै मलाई भेट्नुभएको हो त्यसपछि भेटेको छैन।'
केही समयअघि कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रधानमन्त्रीको प्रस्ताव कसले गर्यो भनेर नाम खुलाउन चुनौती दिएका थिए।
यस्तै, लामिछानेले अफवाह फैलाएर आफ्नो टिआरपी बढाउन खोजेको कांग्रेसका सांसदहरूको आरोप लगाएका थिए।
यस्तै, लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखविरूद्ध अविश्वासको प्रस्ताव लैजानु घातक हुने बताएका छन्।
प्रधानमन्त्री ओली र सभापति लामिछानेबीच मंगलबार साँझ भेटवार्ता भएको थियो।
सचिवालय बैठकपछि सभापति लामिछानले जे गर्दै हुनुहुन्छ यो अत्यन्त गलत हुने भनेर ओलीलाई बताएको जानकारी दिएका हुन्।
‘छलफल गर्न गएँ र उहाँलाई मैले भनेँ– गलत गर्दै हुनुहुन्छ। गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ। दुई तिहाइ सरकारका प्राथमिकता धेरै छैन्। दुई तिहाइ भनेको शक्ति हो। त्यो शक्ति कहाँ प्रयोग गर्ने भनेर बुझ्नुहुन्छ होला। उहाँलाई सौहादपूर्णरूपमा मैले गलत हुन्छ भनेँ। यसले जुन बाटोतर्फ, यदि सत्य हो भने जे सोचिरहनु भएको छ। अत्यन्त घातक हुन्छ,’ उनले भने।
जबाफमा अध्यक्ष ओलीले छलफल गरिरहेको बताएका थिए। ‘उहाँको प्रतिक्रिया म छलफलमा छु, नेपाली कांग्रेससँग पनि छलफलमा छु भन्ने थियो,’ सभापति लामिछानेले भने।
सोमबार साँझ बसेको सत्तारूढ दलको बैठकमा उपसभामुख इन्दिरा रानाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय भएको थियो। उपसभामुख रानाले अमेरिकी भिसाको मिति अगाडि सारिदिन आग्रह गर्दै पत्र लेखेपछि विवादमा परेकी थिइन्।