गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको भन्दै संसदको अभिलेखबाट नहट्ने भएको छ।
बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले भदौ १२ गते बोलेको हिंसा भन्ने शब्द अंसदीय नभएको ठहर भएको बताएका हुन्।
उनले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र भदौ १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताए। उनले सो शब्द संसदको अभिलेखबाट हटाउनु नपर्ने बताए।
‘सो शब्द असंसदीय रहेकोले संसदको अभिलेखबाट हटाइयोस् भनि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक माननीय हितराज पाण्डेसहितका माननीय सदस्यहरूले विषय उठान गर्नुभएकोमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा उक्त हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा संसदको अभिलेखबाट हटाउनु नपर्ने व्यहोरा जानकारी गराउँछु,’ सभामुख घिमिरेले भने।
उनले पछिल्लो समय प्रतिकात्मक शब्द प्रयोग गर्दापनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको भन्दै सांसदहरूलाई संसदमा प्रस्तुत हुँदा शब्द चयनमा सचेत रहन रुलिङ गरे।
‘साथै पछिल्ला बैठकहरूमा कतिपय सन्दर्भमा प्रतिकात्मक शब्द प्रयोग गर्दापनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको पाइएको छ। माननीयज्युहरूलाई संसदमा प्रस्तुत हुँदा शब्द चयनमा सचेतना अपनाउन आग्रह गर्दै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ को व्यवस्था स्मरण गराउन चाहन्छु,’ उनले रूलिङ गरे।
यसरी सभामुखले हिंसा शब्द असंसदीय नभएको भनेपछि नेकपा माओवादी केन्द्रले संसद अवरूद्ध गरेको थियो। संसद अवरूद्ध भएपछि सभामुख घिमिरेले सभा भदौ ३० गतेका लागि सारेका हुन्।
-न्युज एजेन्सी नेपाल