जनमत पार्टीका अध्यक्ष सिके राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन्।
बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानी गर्दै अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताएका हुन्।
उनले सरकारले संवैधानिक परिषदमा आफ्नो बहुमत पुर्याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताएका छन्।
संवैधानिक परिषदमा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्ति गर्न गाह्रो भएकाले गलत नियत राखिएको उनको कथान छ। अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने पनि बताए।
‘एकदम गलत नियतका साथ भइरहेको छ। संवैधानिक परिषद्मा बहुमत पुर्याउनका लागि भइरहेको छ। अहिले आधा–आधा भयो।
तीन–तीनवटा सिट भएपछि त्यहाँबाट आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भयो भनेर हटाउनका लागि यो भइरहेको छ। जुन गलत नियतका साथ हुन्छ, त्यो पक्कै पनि गलत नै हुन्छ। यसो नगरिदिए अलिकति लोकतन्त्रको मान मर्यादा रहन्थ्यो कि जस्तो हामीलाई लाग्छ।’
उनले उपसभामुख राना एकदम प्रतिष्ठित र सबैभन्दा योग्य व्यक्तिहरुमध्ये एक भएको बताए। ‘अहिलेको सरकारको बारेमा हामीलाई खासै जानकारी पनि हुन सकेको छैन। हिजो अस्ति सत्ता गठबन्धनको बैठक बस्यो भनेर मैले पनि पढेँ। कता के भइरहेको छ? अहिलेसम्म न्यूनतम साझा कार्यक्रम पनि बनेको अवस्था छैन। न त कसैसँग छलफल हुन्छ, न त सरकारको भिजिबिलिटी कतै देखेको छु मैले,’ उनले भने।
उनले जनमत पार्टी सत्ता पक्ष हो कि विपक्षीमा हो भन्ने थाहा नभएको पनि बताए। ‘खासै काम, कारबाही अगाडी बढेको जस्तो, सरकार भएको जस्तो महसुस देख्दिनँ,’ उनले भने।
उनले साना पार्टीहरूलाई कसरी सखाप पार्ने भन्ने चिन्तामात्रै देखिएको बताए।
‘केही सीमित नेताहरूलाई मात्रै कसरी प्रतिशोध साँध्ने? त्यसमा प्रतिनिधि सभा पनि केन्द्रित भएको र सरकार पनि केन्द्रित भएको मैले देखेको छु,’ उनले भने।