प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले सांसदहरूबाट सभा सञ्चालनमा सहयोग नभएको भन्दै प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन्।
सभामुख घिमिरेका अनुसार भदौ ३० गतेसम्मका लागि बैठक स्थगित भएको छ।
‘सभा सञ्चालन गर्न सहयोग गर्नु भएन। त्यसले गर्दा कार्यसूचीमा रहेका बाँकी सबै कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराउँछु,’ उनले भने, ‘अब अर्को बैठक भदौ ३० गते आइतबार दिनको एक बजे बस्ने गरी स्थगित हुन्छ।’
नेकपा (एमाले) का सांसद योगेश भट्टराईले भदौ १२ गतेको प्रतिनिधि सभामा प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्ने नरहेको जानकारी गराएपछि माओवादीका सांसदहरूले विरोध जनाएका थिए।
यसबारे बुधबारको बैठकमा सभामुख घिमिरेले उक्त हिंसा शब्द असंसदीय नदेखिएको हुँदा संसदको अभिलेखबाट हटाउनु नपर्ने व्यहोरा जानकारी गराएका थिए।
माओवादीले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेको थियो। उक्त शब्द हटाउनु नपर्ने सभामुखले जानकारी गराएपछि प्रमुख सचेतक हितराज पाण्डेले विरोध जनाएका थिए।
उनले संविधान र कानुनलाई हेरेर संघीय संसद सचिवालय अघि बढ्नुपर्ने पनि बताए।
यसपछि एमाले सांसद रघुजी पन्त बोलेका थिए। उनले माओवादीकै नेताहरूले संसदमा धेरै पटक हिंसा शब्द प्रयोग गर्ने गरेको बताएका थिए। यसपछि माओवादी र एमाले सांसदहरूबीच वादविवाद भएको थियो।