राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
दमकस्थित हिमालयन टि-गार्डेनमा पूर्वराजा शाह र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो।
पूर्वराजासँग बुधबार भएको भेटवार्ताका बारेमा अध्यक्ष लिङ्देनले औपचारिक रूपमा केही बताएका छैनन्।
अध्यक्ष लिङ्देननिकट कोशी प्रदेशका एक नेताले अध्यक्ष लिङ्देन र पूर्वराजाबीच राजसंस्था पुनर्स्थापनाका एजेन्डालगायत विषयमा कुराकानी भएको छ।
‘विगतमा पनि धेरै पटक स्नेहपूर्ण भेटघाट भएको छ, यसपटकको भेट नियमित भेटघाट हो,’ ती नेताले भने।
राप्रपाले राजसंस्था पुन:स्थापना र हिन्दु राष्ट्रको पुन:स्थापना, प्रदेश संरचना खारेजी लगायतका विषयलाई उठान गर्दै आएको छ।
राप्रपाले पूर्वराजादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था हुनुपर्ने भन्दै नवीन समझदारीको प्रस्तावसमेत राख्दै आएको छ।