सत्तारूढ नेपाली कांग्रेसका सांसदहरूले पनि उपसभामुख इन्दिरा राना मगरलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
बुधबारको प्रतिनिधि सभामा बोलेका कांग्रेसका सांसदहरूले उपसभामुखबाट पदीय मर्यादाविरीत काम भएकोले राजीनामा दिनुपर्ने माग गरेका हुन्।
‘उपसभामुखमाथि प्रश्न उठेको छ। उपसभामुखजस्तो पदमा रहेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरूपयोग हो, यो गम्भीर अपराधसमेत हो,’ सांसद प्रतिमा गौतमले भनिन्, ‘जसका सन्दर्भमा स्वयम उपसभामुखले गत साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुरा स्वीकार गरिसक्नुभएको छ।’
करूणा, संख्या र महिलाको कुरा उठेको भन्दै उनले विषय संविधान र कानूनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको भएको बताइन्।
‘जब पदीय इमान हुँदैन तब लोकतन्त्रमा संख्याले काम गर्छ। उपसभामुखलाई आग्रह छ- इमानको मानक राख्नुस्, मार्गप्रशस्त गर्नुस्। उपसभामुख पदबाट राजीनामा दिनुस्,’ उनले भनिन्।
कांग्रेसकी अर्की सांसद शान्ति परियारले पनि उपसभामुखलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी छन्। ‘उहाँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ, प्रतिष्ठा नै जोडिएको र उपसभामुखसँग जोडिएको कुरा हो,’ उनले भनिन्।
मंगलबारको प्रतिनिधि सभामा नेकपा (एमाले) का सांसदहरूले उपसभामुखको आचरणलाई लिएर राजीनामा माग गरेका थिए।
उपसभामुख राना मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो।
यो पनि:
प्रक्रियामा जानुअघि नै उपसभामुखले मार्गप्रशस्त गर्नु राम्रो हुन्छ: कांग्रेस प्रमुख सचेतक
सत्ता गठबन्धनसँग फेरि छलफल गरेर मात्रै कांग्रेसले उपसभामुखबारे निर्णय लिने