नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको आचरणको विषय मंगलबारको प्रतिनिधि सभामा उठेकोले यसबारे सत्ता गठबन्धनसँग फेरि छलफल गरी आवश्यक निर्णय लिइने निष्कर्ष निकालेको छ।
कांग्रेसले उपसभामुखलाई हटाउने वा नहटाउने विषयमाथि सत्ता गठबन्धनमा रहेका सबै दलको साझा धारणा आउनुपर्ने भन्दै यसबारे सत्ता गठबन्धनमा फेरि छलफल गरेपछि बस्ने संसदीय दल बैठकबाट मात्रै निर्णय लिने भएको हो।
उपसभामुख राना मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो। यो विषय मंगलबारको प्रतिनिधि सभामा नेकपा (एमाले) का सांसदहरूले पुन: उठान गर्दै उपसभामुखले पदबाट राजीनामा दिनुपर्ने विषय राख्दा माओवादी केन्द्र र रास्वपाले प्रतिवाद गरेका थिए।
‘उपसभामुखमाथि प्रश्न उठेको छ। उपसभामुखको पदमा बसेर मसँगै उनीहरू पनि कार्यक्रममा जाने हुन् भनेर लेटरप्याडमा पत्र लेख्नु अनुचित थियो भन्नेमा द्विविधा रहेन। गत साउनमै यो कुरा प्रश्न उठेको थियो। हिजो फेरि यो प्रश्न संसदमा आयो, त्यसमाथि हामीले आज छलफल गरेको हो,’ सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘सत्तारूढ दलहरूसँग छलफललाई सघन रूपमा अघि बढाएर साझा धारणा बनाएर हाम्रो संसदीय दल बैठक बसेर मात्रै निर्णय गर्छौं।’
सत्ता गठबन्धन दलहरूसँग कहिले छलफल गर्ने र अब संसदीय दल बैठक कहिले बस्छ भन्नेबारे भने उनले खुलाएनन्। तर उनले प्रक्रियामा जानुअघि नै उपसभामुखले मार्गप्रशस्त गर्दा राम्रो हुने बताए।
‘सत्तारूढ दलहरूको बैठक औपचारिक तथा अनौपचारिक रूपमा बस्छ। कांग्रेस र एमाले मात्रैले दुई तिहाइ मत पुग्दैन, सत्तारूढ दलहरूको साझा धारणा बनाएर अघि बढ्ने हो,’ उनले भने, ‘साझा धारणा बनाउने कुरा भएको छ। आजै, भोलि नै उपसभामुखलाई निकालिहाल्ने भन्ने होइन। हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा पहिले नै उहाँले मार्गप्रशस्त र बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ।’
यो पनि: एमालेले सदनमै माग्यो उपसभामुखको राजीनामा, माओवादी र रास्वपाले के भनेर गरे प्रतिवाद?