संवैधानिक परिषदको बैठक बस्दै छ। नयाँ प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न संवैधानिक परिषदको बैठक बस्न लागेको हो।
परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरि परिषदको बैठक बोलाएका छन्। परिषदका सदस्यहरूलाई पठाइएको पत्रमा प्रधानन्यायाधीश सिफारिसको एउटामात्रै एजेण्डा उल्लेख गरिएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउँदैछन्। नयाँ प्रधानन्यायाधीशको संसदीय सुनुवाई पनि गर्नुपर्ने प्रावधान छ।
यसअघि नै न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदलाई पठाइसकेको छ।
न्यायपरिषदले न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको छ।
सिफारिस मध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उनकै नाम सिफारिस गर्ने सम्भावना रहेको छ।
संवैधानिक परिषदले अरू तीन वटा पदमा सिफारिस गर्नुपर्नेछ। निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगमा एक-एक वटा पद रिक्त छ। तर आजको बैठकमा तीन वटै आयोगको एजेण्डा समावेश गरिएको छैन।