नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति धनराज गुरूङको नाम सहकारीमा जोडिएको भन्दै छानबिन हुने बताएका छन्।
कुनै पनि प्रकरणमा कानून उल्लंघन गरेको पाइएमा उन्मुक्ति पाउन नहुने उनले बताए।
शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भए पनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने उनले बताएका छन्।
संसदमा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानबिन गर्न आग्रह गरेको भन्दै थापाले संसदीय समिति बनाएर छानबिन झनै सहज भएको बताए।
‘कुनै पनि प्रकरणमा, कसैले कानून मिच्दछ र दण्डनीय काम गर्दछ भने, दोषी छ भने उन्मुक्ति पाउनु हुँदैन,’ थापाले मंगलबार काठमाडौंमा पत्रकारहरू सँग भने, ‘चाहे त्यो शक्तिशाली, सत्तासिन, नाता पर्ने होस्, चाहे जोसुकै होस्।’
उपसभापति गुरूङमाथि मितेरी बचत तथा ऋण सहकारीसम्बन्धी विषय जोडिएको छ। मंगलबार नै प्रतिनिधि सभामा बोलेका गुरूङले आफूमाथि कुनै आशंका भए संसदीय छानबिनका लागि पनि तयार रहेको बताएका थिए। (न्युज एजेन्सी नेपाल)
भिडिओ: