नेपाल पर्यटन बोर्डमा आफूभन्दा कम अंक प्राप्त गर्नेलाई कार्यकारी प्रमुखको पदमा नियुक्त गरिएको भन्दै धनन्जय रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
मंगलबार रेग्मीले वारेस भुवन झाँक्रीमार्फत् अदालतमा रिट दायर गरेका हुन्। उनले नेपाल पर्यटन बोर्डसहित ७ जनालाई विपक्षी बनाएका छन्।
रेग्मीले आफूलाई कार्यकारी पदमा नियुक्त नगरी आफूभन्दा कम प्राप्तांक प्राप्त गर्ने दीपकराज जोशीलाई नियुक्त गरिएको भन्दै रिट दायर गरेका हुन्।
रेग्मीले जोशीको नियुक्ति र नियुक्ति पत्र समेत बदर गरी आफूलाई नियुक्ति दिलाउनु भनी परमादेश माग गरेका छन्। मुद्दा किनारा नलागेसम्म जोशीको नियुक्ति कार्यान्वयन नगर्न/नगराउन भनेर विपक्षीका नाममा परमादेश वा जो चाहिने आदेश जारी गरी पाऊँ भनेर रिटमा उल्लेख गरेका छन्। त्यसैगरी उनले अन्तरिम आदेश समेत जारी गर्न माग गरेका छन्।
बोर्डको कार्यकारी प्रमुख पद गत माघ १६ गतेदेखि रिक्त थियो। रिक्त भएपछि चैत २४ गते दरखास्त आह्वान गरिएको थियो। त्यसअनुसार रेग्मीले आवेदन दिएका थिए।
भदौ २० गते कार्यकारी समिति समक्ष भएको परीक्षामा समेत सामेल भई उत्कृष्ट अंक ल्याएर तीन जना आवेदकको नाम सिफारिस गर्ने प्रावधान भएको र त्यसमा आफू सूचीको पहिलो नम्बरमा परेको हुनाले आफू नै कार्यकारी प्रमुख हुनुपर्ने उनको दाबी छ।