राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितले आफूमाथि टार्गेट गरेर अपराध गरेको बताएका छन्।
पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण एवं विस्तारित बैठकलाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन्।
लामिछाने प्रशिक्षण कार्यक्रममा सहभागी हुन लाग्दा पोखराको सूर्यदर्शन सहकारी पीडितले उनीविरूद्ध कालो झण्डा देखाएर नाराबाजी गरेका थिए। पीडितले आफूविरूद्ध नाराबाजी गरेर गलत मान्छेलाई टार्गेट गरेको लामिछानेको जिकिर छ।
‘कस्तो संघर्ष समिति हो। अपराध गर्दै हुनुहुन्छ साथीहरू। संघर्ष समितिको नाममा अपराध। लाखौं सहकारी पीडितमाथि अन्याय गर्दै हुनुहुन्छ। तपाईले गलत मान्छेलाई टार्गेट गरेर,’ लामिछानेले भने।
सहकारी ठग को-हो भन्ने कुरा छ्यापछ्याप्ती देखिएको भन्दै उनले आफूमाथि अन्याय गरेको बताए। सहकारी पीडितको आन्दोलनको अग्रपंक्तिमा आफू पनि आउनुपर्नेमा गलत मान्छेलाई आरोप लगाएर विषय अन्तै मोडेको लामिछानेले बताए।
‘लाखौं सहकारीको बचतकर्ताको रकम फिर्ता दिनुपर्ने विषय, त्यो आन्दोलनमा हामी पनि पनि अग्रपंक्तिमा आउनुपर्ने ठाउँमा गलत मान्छेलाई आरोप लगाएर विषय अन्तै मोड्नुभएको छ,’ उनले भने।
लामिछानेलाई कालो झण्डा देखाएर नाराबाजी गर्ने पीडितप्रति लक्ष्य गर्दै लामिछानेले पीडितका पक्षमा लड्नेलाई आफूले सलाम गर्ने बताए।
उनीहरू कसैले उचालेर आफ्नो विरोधमा लागेको उनको आरोप छ। आफू पनि सहकारी पीडितको पक्षमा अग्रपंक्तिमा लड्ने मान्छे भए पनि आफूलाई दोषीझैं विरोध गरेर मौका गुमाएको लामिछानेले बताए।
‘सहकारी पीडितको लागि लड्नुभएको भए मेरो साथ छ। सलाम छ। तपाईहरूले गल्ती गर्नुभएको छ। जो मानिसले गल्ती गरेको छैन। जो मान्छे अपराधमा संलग्न छैन। उसैलाई दोषीझैं गरी कसैले उक्साएको भरमा तपाईले जुन विरोध गरिरहनुभएको छ। तपाईले विरोध नगरिदिनुभएको भए तपाईको न्यायका लागि लड्ने मान्छेको अग्रपंक्तिमा रवि लामिछाने हुने थियो। तपाईले मौका गुमाउनुभएको छ,’ उनले भने।
अझै पनि पीडितका पक्षमा लड्न आफू तयार भएको भन्दै आँखा खोल्न उनले आग्रह गरे।
‘म अझै भन्न चाहन्छु, साथी हो। कहाँ जाने लड्न। म अझै पनि तयार छु,’ उनले भने, ‘तपाईका अनेक मुर्दावाद, जिन्दावाद, कालो झण्डाबीच पनि म कालो मन होइन सफा मन लिएर तपाईको आन्दोलनमा अग्रपंक्तिमा लड्न चाहन्छु, आँखा खोल्नुस्।’
सूर्यदर्शन सहकारीका पीडितसँग आफू मिडियामा लाइभ गरेर कुरा गर्न तयार भएको पनि उनले बताए। आफूविरूद्ध प्रमाण ल्याए राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चलिरहेको पोखराको ग्यालेक्सी ब्याङ्क्वेटबाटै राजनीति त्याग्न तयार भएको उनको भनाई छ।
‘मलाई यहीँ प्रमाणित गर्नुस् यही हलबाट राजनीति अन्त्य गरेको घोषणा गर्छु,’ उनले भने, ‘आजैबाट त्यागेर जान्छु। बुझाउँछु घण्टी।’
सूर्यदर्शन सहकारी ठगीमा कसैले उचालिदिएका भरमा र कसैले गलत कुरा बोलिदिएको भरमा पीडित उचालिएको लामिछानेको आरोप छ। सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै उनले सहकारीको बचत अपचलनमा आफ्नो हस्ताक्षर, विवरण, नागरिकता, ल्याप्चे केही पनि नभएको बताए। सहकारी ठगीमा आफूविरूद्ध हिलो छ्यापेको उनको आरोप छ।
पीडितको आन्दोलनमा आफूलाई पनि बोलाउन आग्रह गर्दै उनले आफूमाथि केन्द्रित नहुन पीडितलाई आग्रह गरे। सहकारी ठगीका सम्बन्धमा खोयाबाट सुरू भएको काण्ड खोयामै गएर टुङ्गिने पनि बताए।
गत पुस ७ गते पोखराको अमरसिंह चौरमा लामिछानेले मन्तव्य राख्दै गर्दा लमजुङका सन्तोष रानाभाटले मकै खाएर फालेको खोया लामिछानेको स्टेजमा पुगेको थियो।
‘ममाथि केन्द्रित हुन पर्दैन। मलाई एउटा प्रमाण भए पुग्छ। चिन्ता तपाईलाई सहकारी पीडितको हो भने पीडितका लागि लड्नुस्। मलाई बोलाउनुस् न। अग्रपंक्तिमा कहाँ जिन्दावाद, कहाँ मुर्दावाद म भन्न तयार छु। खोयाबाट सुरू भएको यो काण्ड खोयामै टुङ्गिन्छ।’
सहकारी पीडितको समस्या समाधान गर्न उपप्रधान तथा गृहमन्त्री छँदा फाष्ट ट्रयाकबाट मन्त्रिपरिषदमा प्रस्ताव लगेर समाधान गर्न खोजेको पनि उनले बताए।
अर्को प्रसंगमा लामिछानेले २०८४ को निर्वाचन युद्ध भएका भएको बताए। अहिलेसम्म युद्ध नलडेकाले कसैले हार्यो भन्दैमा टाउको नझुकाउने बताए।
‘यो त निर्वाचनबाट हामीले युद्ध लड्न अफिसियल निमन्त्रण पठाएको हो। युद्ध गरेको होइन,’ उनले भने, ‘साथीहरू युद्ध त ८४ मा गर्ने हो।’
आफू हरेक परीक्षामा उत्तीर्ण भएको दाबी गर्दै उनले आफूलाई सक्छु भन्दैमा रास्वपा नसकिने बताए।
‘हर परीक्षामा सबै भन्दा पहिला छाती तन्काएर उभिएको छु। सबै परीक्षा उत्तीर्ण भएर आएको छु। कसैलाई पनि रवि लामिछाने, स्वर्णिम, मनिषलाई सक्ने वित्तिकै रास्वपा सकिन्छ भन्ने भ्रम छ भने कान खोलेर सुन्न भन्छु,’ उनले भने, ‘नेपालको मत पत्रमा घण्टी चुनाव चिन्ह दर्ज भएको छ। सक्छौं भने घण्टी हटाएर देखाउ। यो आधी हो। कसरी सकिन्छ।’
यो पनि: रवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी